काभ्रेपलाञ्चोक : आफ्नो बस्ती जोखिममा पर्ने भएपछि तेमाल गाउँपालिका–२ र ३ का बासिन्दाको विरोधपछि सुनकोशी किनारमा बालुवा उत्खनन कार्य बन्द गरिएको छ । गाउँपालिकाले सुनकोशी नदी किनारमा बस्ती नजिकै बालुवा उत्खनन गर्न दिएपछि स्थानीयवासीले विरोध गरेका थिए ।

गाउँपालिकासँगको सम्झौताविपरीत ठेकेदारले बालुवा उत्खनन गर्दा आफ्नो बस्ती जोखिममा परेको जनाउँदै चुखाबेँसी र च्यूरीआँपका बासिन्दा आन्दोलनमा उत्रिएका थिए । दुवाकोट कन्ट्रक्सन एवं सालीनदी निर्माण सेवा प्रालिका निमित्त सञ्चालक सत्यमान लामाले दुई स्थानमा सम्झौताविपरीत बालुवा उत्खनन गरेपछि स्थानीयवासीले विरोध गर्दै आएका थिए ।

सम्झौताअनुसार ९२ सेन्टिमिटर मात्रै बालुवा निकाल्नुपर्नेमा ठेकेदार कम्पनीले १० देखि १५ मिटरसम्म बालुवा निकालेपछि बस्ती जोगाउन विरोधमा उत्रिएको स्थानीयवासी टेन्डी लामाले बताए । उनले भने, “हाम्रो बस्ती नदीको किनारमा छ, १५ मिटरसम्म बालुवा निकाल्दा वर्षामा सुनकोशी नदीले बस्ती नै बगाउने खतरा छ ।”

स्थानीयवासीले मापदण्डविपरीत र बोलपत्रअनुसार सम्झौता नभएको समेत बताएका छन् । सम्झौतामा बिहान छ बजेदेखि साँझ छ बजेसम्म नदीको बगरमा ९२ सेन्टिमिटर मात्र बालुवा निकाल्नुपर्ने उल्लेख छ । तर ठेकेदार कम्पनीले राति १२ बजेसम्म स्काभेटर र टिपर चलाएर नदीको दोहन गरेको स्थानीय चन्द्र लामाले बताए । “ठेकेदारले सम्झौताविपरीत काम गरेको गाउँपालिका अध्यक्षलाई जानकारी गराउँदासमेत कुनै चासो नदिएपछि आन्दोलन नै गर्नुप¥यो”, उनले भने ।

चुखाबेँसी र च्यूरीआँप बगरमा रु एक करोड ५० लाखको टेण्डरमा लामाले ६० प्रतिशतमा मात्रै सम्झौता कागज मिलाएको स्थानीयवासीले आरोप लगाउँदै आएका छन् । “ठेकेदारसँग मिलेर ४० प्रतिशत गाउँपालिकामा मिलाएको छ, यसको पनि छानबिन हुनुपर्छ, अन्यथा, अख्तियार जान्छौँ”, स्थानीयवासी चन्द्र लामाले भने । उनका अनुसार बस्ती जोखिममा पर्ने भएपछि दुवै स्थानका बासिन्दाले बालुवा उत्खनन् गर्न नदिन गाउँपालिकासमक्ष अनुरोध गर्दागर्दै बोलपत्र खुलाइएको हो ।

स्थानीयवासीले जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालयलगायत आठ सरोकारवाला निकायमा समेत बालुवा उत्खनन बन्द गर्न माग गर्दै पत्राचार गरेका थिए । साथै, स्थानीयवासीले आन्दोलन गरी बालुवा बोक्न आउने टिपर फर्काउने र ठेकेदारलाई भगाएपछि गाउँपालिकाले बालुवा उत्खनन बन्द गराएको हो । त्यस स्थानमा बालुवा उत्खनन गर्दा, बस्तीसँगै विद्यालय र स्वास्थ्यचौकी जोखिममा पर्छन् ।

गाउँपालिकाका अध्यक्ष सलामसिंह लामाले विवाद भएपछि बालुवा उत्खनन बन्द गराएको बताए । उनले आफूप्रति स्थानीयवासीको ओरोप गलत भएको जिकिर गरे । “स्थानीयवासीको विरोधपछि उत्खनन बन्द गरायौँ, उत्खनन गर्न दिने÷नदिनेबारे छानबिन गर्दैछौँ”, उनले भने ।

अध्यक्ष लामाले टेण्डरभन्दा केही प्रतिशत रकम घटाएर ठेकेदार कम्पनीसँग सम्झौता गरेको स्वीकारेका छन्। गाउँपालिका अध्यक्ष र ठेकेदार कम्पनीका लामा नातामा मामाभान्जा हुन् ।

ठेकेदार लामाले गाउँपालिकाको नियममै रहेर बालुवा निकालेको दाबी गरे । उनले भने, “गाउँपालिकाको नियमकै आधारमा बालुवा निकालेका छौँ, स्थानीय जनप्रतिनिधिले केही भन्नु नपर्ने अनि गाउँलेले जे भन्दा पनि हुन्छ ।” लामाले स्थानीयवासीलाई खुलेआम रूपमा आफूले सबै ‘सेटिङ’ गरेर मात्रै बालुवा निकालेको बताउँदै आएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version