काठमाडौं : सरकारको एक वर्षे कार्यकाल ‘पूर्णतः असफल’ रहेको निष्कर्षसहित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। जिल्ला अदालत कैलालीले सांसद रेशमलाल चौधरीलाई जन्मकैद फैसला गरेलगत्तै बुधबार काठमाडौंमा बसेको राजपाको आपतकालीन बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
एक वर्षअघि ओली नेतृत्वको सरकारलाई उसले संविधान संशोधन हुने लगायतका आशासहित बिना कुनै सहमति/सम्झौता समर्थन गरेको थियो। बिचबिचमा पनि राजपाले सरकारलाई आफ्ना माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिइरहेको थियो।
पछिल्लोपटक गत पुस १० गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजपाले संविधान संशोधन, कैलालीका सांसद रेशम चोधरीको रिहाई, मधेस आन्दोलनका मुद्दा फिर्ता, बन्दी रिहाइमा सरकारले अग्रसरता नदेखाएको भन्दै समर्थन फिर्ताको चेतावनी दिएका थिए। तर सभामुखले अचानक सांसद चौधरीलाई पद तथा गोपनीयताको सपथ गराएपछि राजपा रोकिएको थियो।
त्यसअघि साउनदेखि दसैंसम्म मात्रै राजपाले प्रधानमन्त्रीलाई ५ पटक भेटेर माग सम्बोधन गर्न अल्टिमेटम दिइसकेको थियो।
