मलंगवा: उखुको अनुदान रकम नपाए आन्दोलन गर्ने चेतावनी दिएका किसानहरुलाई बुधबारदेखि अनुदान रकम दिन सुरु भएको छ । मंगलबार किसानहरुले अनुदान नपाए तीन दिनपछि आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
बुधबार पहिलो दिन हरिवन, लालबन्दी, ईश्वरपुर र बागमतीका किसानको रकमको चेक इन्दुशंकर चिनी उद्योगले जिल्ला प्रशासन कार्यालयबाट बुझेको छ । पहिलो दिन जिल्ला प्रशासन कार्यालयबाट उद्योगले ४ हजार १ सय २३ किसानको रकम बुझेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पहिलो दिन ९ करोड २७ लाख २९ हजार २ सय २५ रुपैयाँ ७१ पैसाको चेक इन्दुशंकर चिनी उद्योग हरिवनलाई दिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताएका छन् ।
पहिलो दिन ४ वटा नगरपालिकाका किसानहरुको अनुदान रकमको चेक उद्योगलाई दिइएको प्रजिअ पोखरेलले बताएका छन् । अर्को बैठक बसेर बिहीबार फेरि केही गाउँपालिका र नगरपालिकाको किसानको अनुुदान रकम पठाउने बताइएको छ ।
धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगका किसानहरुलाई पनि एक दुई दिनमै पैसा निकासा गरिने प्रजिअ पोखरेलले बताएका छन् । ‘सबै कागजातलाई कृषी ज्ञान केन्द्रले केलाउँदै छन्’, प्रजिअ पोखरेलले भने, ‘फाइल केलाउनु बित्तिकै सबै किसानको पैसा निकाशा हुन्छ ।’
किसानलाई दिनुपर्ने अनुदानको रकम करिब २८ करोड रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख जगतप्रसाद थपलियाले बताए । र अझै १ करोड ४१ लाख २ हजार ९ सय २२ रुपैयाँ १२ रकम अगुप रहेको थपलियाले बताएका छन् । यो समाचार अन्नपुर्ण पोस्टमा रहेको छ ।
