काठमाडौं : मोबाइल सेवाको गुणस्तर मापदण्ड पूरा गर्न सबै टेलिकम कम्पनी असफल भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको गुणस्तरका सम्बन्धमा गरेको परीक्षणमा कलतर्फ सबै कम्पनी असफल भएका हुन्।
प्राधिकरणले भक्तपुर, पोखरा, बागलुङ र पृथ्वी राजमार्ग क्षेत्रमा गुणस्तर परीक्षण गरेको थियो। चार स्थानमा भएको गुणस्तर परीक्षणमा कलतर्फ सबै कम्पनी प्राधिकरणले तोकेको मापदण्ड पूरा गर्न असफल भएको छन्। प्राधिकरणका अनुसार माघ पहिलो र दोस्रो साता नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको ड्राइभ टेस्ट गरिएको थियो। ड्राइभ टेस्ट अर्थात् प्राधिकरणले चलायमान सवारीसाधनमा परीक्षण उपकरण जडान गरेर लगातार फोन कल गरी वा डाटा प्रयोग गरी मोबाइल नेटवर्कको मुख्य–मुख्य सेवा मानकको तथ्यांक संकलन गरिएको हो।
यसमा कुनै एक स्थानमा उपलब्ध सबै सेवा प्रदायकको गुणस्तरमापन एकै साथ गरिन्छ। हरेक सेवा प्रदायकको कुनै एक स्थानमा उपलब्ध नेटवर्क (फोरजी, थ्रीजी र टूजी) मध्ये सर्वाधिक अनुकूल नेटवर्क स्वचालित रूपमा छनोट हुने गरी उपकरणमा व्यवस्था गरिन्छ। उक्त ड्राइभ टेस्टअनुसार सबैभन्दा खराब मोबाइल फोन सेवा स्मार्ट टेलिकमको देखिएको छ। स्मार्ट टेलिकमसहित अन्य दुई टेलिकमको मोबाइल सेवा परीक्षण तीन फरक स्थानमा गरिएको थियो जसमा सबैभन्दा खराब सेवा स्मार्ट टेलिकमको देखिएको प्रतिवेदनले देखाएको छ।
भक्तपुर, पोखरामा र बागलुङमा गरिएको ड्राइभ टेस्टको प्रतिवेदनअनुसार बागलुङमा कल स्थापना हुन लाग्ने समय र सफलताको दरमा तीनवटै कम्पनी प्राधिकरणले तोकेको कल स्थापना हुन लाग्ने समयको मापदण्डमा असफल भएका छन्। प्राधिकरणले तोकेको कल स्थापना हुन लाग्ने समय र सफलताको दर ९९ प्रतिशत वा त्योभन्दा बढी रहेकामा स्मार्टको ६५.७१ प्रतशत, एनसेलको ९४.३३ प्रतिशत र नेपाल टेलिकमको ९६.१५ प्रतिशत रहेको छ। तर आफैँ फोनकल वा सम्पर्क बिच्छेद हुने दरमा भने एनसेल सफल भएको छ।
बागलुङमा भएको परीक्षणमा आफै फोनकल वा सम्पर्क बिच्छेद हुने दरमा एनसेलको सबैभन्दा थोरै २ प्रतिशत छ। त्यसमा सबैभन्दा धेरै स्मार्ट टेलिकमको छ। स्मार्टको फोनकल बिच्छेद हुने दर ६.५२ प्रतिशत र नेपाल टेलिकमको ४ प्रतिशत छ। यसका लागि प्राधिकरणले २ प्रतिशतको मापदण्ड तोकेको थियो। यो समाचार अन्नपुर्ण पोस्टबाट लिइएको हो ।
