काठमाडौं : यो हप्ता ‘स्याटलाइट’ विशेष चर्चाको विषय बन्यो। सरकारले अबको ३० महिनाभित्र आफ्नै स्याटलाइट लन्च गर्ने योजनाका साथ फ्रान्स सरकार र फ्रान्सेली कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ। फ्रान्स सरकारसँग भएको यो हस्ताक्षर २५ वर्षदेखि आफ्नै स्याटलाइटको सपना देख्दै आएका नेपालीका लागि महत्वपूर्ण सुरुवात हुनसक्छ।
फ्रान्सको आर्थिक तथा प्राविधिक सहयोगमा ३० महिनाभित्र आफ्नै स्याटलाइट स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा गत शुक्रबारमात्रै नेपाल फर्किएका हुन्। नेपालको तर्फबाट नेपाल दूरसञ्चार प्राधिकरण र नेपालका लागि स्याटलाइट बनाइदिने थालेस एलेनिया स्पेसबीच बाँस्कोटाको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो। कम्पनीले नेपालका लागि बनाइदिने स्याटलाइट समयमै बनाएर प्रक्षेपण भएमा यो नेपालको प्रविधिको क्षेत्रमा निकै ठूलो फड्को हुनेछ। योभन्दा पनि महत्वपूर्ण कुरा नेपालका लागि आफ्नै स्याटलाइट गौरवको विषय पनि हो।
अन्तर्राष्ट्रिय रेडियो नियमक संस्था अन्तर्राष्ट्रिय दूरसञ्चार यूनियन (आईटीयू) ले नेपालका लागि निर्धारण गरेको ‘अर्बिटल स्लट’ (स्याटलाइट राख्ने स्थान) मै स्याटलाइट राख्ने गरी यो योजना अघि बढाएको छ। सन् १९८४ मै आईटीयूले नेपालका लागि पूर्वी देशान्तरमा दुईवटा पोजिसनका स्लट उपलब्ध गराएको थियो। आईटीयूले नेपालका लागि १२३.३ डिग्री देशान्तरमा स्याटेलाइट सेयररिङ ब्यान्डअन्तर्गत ५ सय मेगाहर्जमा विभिन्न ब्यान्ड उपलब्ध गराएको थियो। अर्को ५० डिग्री देशान्तरमा १२ वटा च्यानलका ब्यान्ड। आईटीयूले छुट्याइदिएका यी दुवै स्लट नेपालले सन् २०१५ भित्रै प्रयोग गरिसक्नुपर्ने थियो। समय गुज्रिएपछि सञ्चार मन्त्रालयले आईटीयूलाई नेपालका लागि छुट्याइदिएको ‘अर्बिटल स्लट’ कायमै राखिदिन आग्रह गर्दै पत्राचार गरेको थियो। सोही स्लटमा अब नेपालको आफ्नै स्याटलाइट रहने छ। यो समाचार अन्नपुर्ण पोस्टबाट लिइएको हो ।
