काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुटेका छन् । मन्त्री परिवर्तनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत छलफल गरिसकेका छन् ।

 

मन्त्रीहरुले पेस गरेको कार्ययोजनाअनुसार परिणाम दिन असफल भएको निष्कर्ष निकाल्दै मन्त्री फेरेर सरकारको कामलाई गति दिने तयारीमा प्रधानमन्त्री रहेका छन् ।

 

ओली नेतृत्वको मन्त्रिपरिषद्मा केही समयअघि ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनमा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि नयाँ मन्त्री को हुने भन्ने छलफल पनि शुरु भएको छ ।

 

निर्वाचनको क्रममा प्रधानमन्त्री ओलीले ताप्लेजुङमा योगेश भट्टराईको निर्वाचन क्षेत्रमा पुगेर भाषण गर्दै उनलाई जिताएर पठाउने जिम्मेवारी ताप्लेजुङबासीको भएको र मन्त्री बनाउने जिम्मेवारी आफ्नो भएको बताएका थिए ।

 

तर ओली नेतृत्वको मन्त्रिमण्डलमा भट्टराई अटाउन सकेनन् । अहिले पुनः भट्टराई मन्त्री हुने चर्चा शुरु भएको हो ।

 

मन्त्री हेरफेरसँगै पर्यटनमन्त्रीको पनि टुंगो लगाउने गरी गृहकार्य भइरहेको छ । ‘अध्यक्ष प्रचण्डले पर्यटनमन्त्रीमा भट्टराईको नाम प्रस्ताव गर्नुभएको छ ।

 

तर प्रधानमन्त्री ओलीले भट्टराईको नाम अस्वीकार गर्नुभएको छ’, प्रचण्डको भनाइ उदृत गर्दै नेकपाका एक स्थायी समिति सदस्यले भने– ‘योगेशजीलाई पर्यटनमन्त्री बनाउँदा राम्रो हुन्छ, यसअघि पनि मन्त्री बनाउने घोषणा भएको थियो, भट्टराईलाई मन्त्री बनाउँदा सरकारलाई राम्रो हुन्छ ।’

तर, जवाफमा प्रधानमन्त्री ओलीले भट्टराईलाई मन्त्री बनाउनुभन्दा पार्टीकै जिम्मेवारी दिँदा राम्रो हुने बताएको ती नेताले बताए । नेकपाका नेता देवेन्द्र पौडेलले मन्त्री हेरफेरको बारेमा पार्टीभित्र छलफल शुरु भएको स्वीकारे । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसुदून रायमाझीले लेखेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version