भीमदत्तनगर: आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाउनुभएको छैन ।

 

उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको दाबी गर्दै भारतीय नागरिकले उपभोग गर्दै आएका छन् ।

 

“विसं २०५८ मा खेतमा लगाएको अन्नबालीसमेत भारतीय सुरक्षाकर्मीले सङ्कलन गर्न दिएनन् ।” सुनारले भन्नुभयो, “खेतमा खनजोत गर्न जाँदा पनि दुव्यर्वहार सहनुपर्ने स्थिति बन्छ ।”

 

पुर्नवासमा उक्त क्षेत्र भारतीयले आफ्नो भूमिमा पार्ने दाबी गर्दै आएको छ ।“सत्र वर्षदेखि आफ्नो जमीन छुटाइदिन विभिन्न निकाय हारगुहार गर्दा पनि कतैबाट सुनुवाइ भएन ।” आफूसित भएको जग्गाको पुर्जा देखाउँदै सुनारले भन्नुभयो, “लिखितरुपमै सरकारलाई जानकारी गराउँद पनि केही भएन् ।”

 

उहाँले मुलुकको व्यवस्था फेरिएर सिंहदरबार गाउँमा पुग्दा पनि जग्गाको विषय छिनोफानो हुन नसकेको दुखेसो पोख्नुभयो । विसं२०३१ देखि गाउँमा बस्दै आउनुभएको स्थानीयवासी मानबहादुर सुनारले नेपाल–भारत २०० नम्बरको सीमा पिल्लर गायब नहुँदा पनि भारतले नेपाली भूमि आफ्नो भनिरहेको बताउनुभयो ।

 

“सीमाको विवाद यथावत रहँदा बेला÷बेला भारतीय सुरक्षाकर्मीसित पनि मनमुटाव हुने गर्छ ।” उहाँले भन्नुभयो, “पुर्नवासमा शहीद बनेका गोविन्द गौतमको घटनास्थल क्षेत्रमा पनि अझै सीमा विवाद समाधान भएन ।” सरकारले पुर्नवास÷बेलौरी नगरपालिका क्षेत्रको सीमा विवाद समाधान हुने आश्वासन दिए पनि हालसम्म नभएको स्थानीयवासीको गुनासो छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version