इस्लामाबाद: पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ शुक्रवार बेलायतबाट स्वदेश फर्किएका छन् । उनी अवुधाबी विमानस्थल हुँदै लाहोरतर्फ जाँदैछन् ।

उनी लाहोर ओर्लिएपछि भ्रष्टाचार निरोधी संस्था नेशनल एकाउन्टेबिलिटी ब्यूरो (न्याब) ले उनको गिरफ्तारीका लागि १० हजार भन्दा धेरै सिपाही तैनाथ गरेर राखेको छ ।

शरीफलाई भ्रष्टाचारको मामिलामा १० वर्षको जेल सजाय सुनाइएको छ ।

नवाजसँगै उनकी छोरी मरियम पनि पाकिस्तान फर्किँदैछिन् । उनलाई पनि भ्रष्टाचारको मामिलामा ७ वर्षको जेल सजाय तोकिएको छ ।

न्याबले बिहीबार मात्रै नवाज र मरियमलाई एयरपोर्टबाटै सीधा रावलपिन्डीको अदियाला जेल लैजाने जनाएको थियो ।

लण्डनबाट अबुधाबी तर्फ जानुअघि नवाजले एक भिडियो म्यासेज जारी गर्दै भनेका थिए, ‘जो मेरो बशमा थियो, जो मेरो बशमा छ मैले गरिसकेको छु । मलाई १० वर्षको जेल सजाय सुनाइएको छ । तर यो बलिदानी पाकिस्तानी पुस्ताका लागि दिइरहेको छु । म मेरा समर्थहरुसँग मेरो हातमा हात समातेर अघि बढ्न अपिल गर्छु, जसले मुलुकको भाग्य र भविष्य बदल्न सकियोस् ।’

समाचार सूत्रका अनुसार न्याबले नवाज र मरियमलाई अदियाला जेल लैजानका लागि गृह मन्त्रालयसँग हेलिकोप्टर मागेको थियो । मन्त्रालयले संस्थालाई त्यही हेलिकोप्टर दियो, जुन प्रधानमन्त्रीका लागि रिजर्भ राखिन्छ ।

अर्थात् नवाज कुनै बेला जुन हेलिकोप्टरमा प्रधानमन्त्रीका रुपमा देशभरी घुमिरहन्थे अहिले त्यही हेलिकोप्टरमा चढेर उनी जेल जाने भएका छन् । मरियमलाई लण्डनको हिथ्रो एयरपोर्टमा उनका साथी र परिवारजनले विदाई गरे ।

यसै मौकामा नवाजले भने, ‘मलाई जेल लगिनेछ, तर म पाकिस्तानका आउने पिढीका लागि बलिदानी दिइरहेको छु ।’ अर्कातिर मरियमले पनि यसै क्रममा ट्विटमा लेखेकी छन्, “मैले आफ्ना छोराछोरीसँग मुश्किल अवस्थामा आत्मबल दह्रो बनाएर सामना गर्नका लागि भनेकी छु । तर बच्चा त बच्चा नै हुन्छन् नि । अलविदा भन्न मुश्किल हुन्छ फेरि पनि बच्चाले नै किन यसो नभनुन् ।’

नवाजका छोरा हुसैनले उनकी आमा कुलसुमले एक महिनापछि बन्द आँखा खोलेको बताइन् । उनले यसमा आफु धेरै केही बताउन नसक्ने प्रतिक्रिया दिए । उनले आमाका लागि प्राथनाको खाँचो रहेको बताए । कुलसुम नवाजको अहिले लण्डनको एक अस्पतालमा उपचार भइरहेको छ ।
अदालतले नवाज (६८) लाई १० वर्षको सजाय सुनाएको छ । उनलाई करिब १ अर्ब १५ करोड रुपैयाँ जरिबाना तिराइने भएको छ। मरियम (४४) लाई ७ वर्षको जेल सजाय र ३० करोड रुपैयाँ तिराइने भएको छ। उनका पति सफदर (५४) लाई १ वर्षको सजाय सुनाइएको छ। यो मामिला लण्डनको अवेनफिल्डस्थित ४ फ्ल्याटसँग जोडिएको छ।

नवाजले यो फ्ल्याट १९९३ मा किनेका थिए । अर्कातिर बिहीबार राति नवाजका दुई नाति जुनैद सफदर र जकारिया हुसैनलाई लण्डनबाट गिरफ्तार गरिएको छ । उनीहरुमाथि एक प्रदर्शनकारीसँग झगडा गरेको आरोप छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version