काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ लाख रुपैयाँ घुस लिएको अभियोग लागेपछि आयुक्तबाट राजीनामा दिएका राजनारायण पाठकसँग बयान लिन थालेको छ। पाठकलाई मंगलबार बिहान उनकै शान्तिनगरस्थित निवासबाट नियन्त्रणमा लिएको अख्तियार अनुसन्धान टोलीले दिनभर लिखित बयान लिएको हो।

बेलुका पाठकलाई निवासमै लगेर छोडिएको छ। उनीसँगको बयान नसकिएको अख्तियार स्रोतले जनाएको छ। पाठकलाई अख्तियार र काठमाडौं प्रहरीको विशेष टोलीले २४सै घण्टा निगरानीमा राखेका छन्। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिने प्रलोभनमा कलेजका संस्थापक सञ्चालक लम्बोदर न्यौपानेबाट ७८ लाख रुपैयाँ घुस लिएको तथ्य खुलेपछि पाठकले फागुन ३ गते पदबाट राजीनामा दिएका थिए।

उच्च स्रोतका अनुसार पाठकले बयानमा कलेज विवाद मिलाइदिने प्रलोभनमा घुस लिएर ठूलो गल्ती गरेको स्विकारेका छन्। ‘विवाद मिलाइदिने भन्दै मैले घुस लिएको साँचो हो,’ पाठकको बयान उद्धृत गर्दै उच्च स्रोतले भन्यो, ‘यो मेरो जिन्दगीकै ठूलो भुल भयो।’ कलेज सञ्चालक लम्बोदर न्यौपाने बयान छलेर भागेपछि पाठकमाथि अख्तियारले निगरानी बढाएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version