गोरखा: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण गरेको बताउनुभएको छ ।

 

गोरखामा आज पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले सरकारले विप्लव समूहलाई वार्ताका लागि आह्वान गरेको भन्दै संविधान कार्यान्वयन हुन नदिने उसको क्रियाकलाप नियन्त्रण गर्नु सरकारको दायित्व भएको बताउनुभयो ।

 

“प्रधानमन्त्रीले वार्तामा आउन आह्वान गर्नुभएको कुरा सञ्चारमाध्यममा बाहिर आइरहेकै छ”, उहाँले भन्नुभयो, “सरकारको आधिकारिक निर्णयमा पनि प्रतिबन्ध भनेर भनिएको छैन ।”

 

उहाँले विप्लव समूहले जुनजुन संविधान विरोधी क्रियाकलाप गरिरहेको छ, त्यसलाई नियन्त्रणमा लिने काम मात्र सरकारले गरेको बताउनुभयो । “बाहिर चर्चामा आए जस्तो सरकारले वार्ता गर्न चाहेन भन्ने कुरा सत्य होइनन्”, प्रवक्ता श्रेष्ठले भन्नुभयो, “सरकार वार्ता गर्न पनि तयार छ र संविधान विरोधी गतिविधि नियन्त्रण गर्न पनि ।”

 

प्रवक्ता श्रेष्ठले विप्लवको लक्ष्य राजनीतिक भए पनि उसको गतिविधि राजनीतिक हुन नसकेको टिप्पणी गर्नुभयो । “शान्तिपूर्ण बाटोबाटै समाजवादमा पुग्ने लक्ष्य हासिल गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “तर उहाँहरु शान्तिसुरक्षामा खलल पु¥याउने, समाजमा अराजकता सिर्जना गर्ने उल्टो बाटो तिर लाग्नुभएको छ”, प्रवक्ता श्रेष्ठले विप्लवको गतिविधिले समाजवादमा पुग्ने बाटोलाई खलबल्याउने काम मात्र गरेको आरोपसमेत लगाउनुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version