काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकसित बनाउने उद्देश्यका साथ सरकारले आफ्ना क्रियाकलाप अगाडि बढाएको बताएका छन् । जनसांस्कृति महासङ्घद्वारा आज आयोजित ‘परिवर्तनका स्वर भाग–२’ गीति एल्बम विमोचन कार्यक्रममा उनले विकासका आधार तयार भइसकेकाले अबका दिनमा विकासका मुद्दालाई एकताबद्ध गर्ने बताए । उनले गीतकार एवं पूर्वप्रधानमन्त्री झलनाथ (जेएन) खनालद्वारा रचित उक्त एल्बम सार्वजनिक गरे ।
“मुलुकलाई विकसित बनाउने हामीसँग स्पष्ट दृष्टिकोण र सङ्कल्प रहेको छ”, उनले भने, “अब मुलुकलाई अलमलमा नपारी विकास र सुशासनको बाटोमा अघि बढाउनेछौँ ।” प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि दिनदिनै नयाँ संरचना बनाउनका लागि उद्घाटन शिलान्यास गर्दै गइरहेको उल्लेख गरे ।
“आर्थिक विकासलाई तीव्रता दिइएको छ । दिनदिनै नयाँ योजनाको शिलान्यास हँुदै आएका छन्”, उनले भने, “हरेक दिन एक कदम अगाडि नेपाललाई बढाउने उद्देश्यका साथ काम भइरहेको छ । कृषि, उद्योग, पर्यटन र ऊर्जा क्षेत्रका काम अगाडि बढेका छन् ।” प्रधानमन्त्री ओलीले नेपाली जनतालाई सुख दिने गरी मुलुक तीव्र परिवर्तनका क्रममा रहेको दावी गरे ।
“देशमा सङ्घीय गणतन्त्र आउनु, संविधानसभाबाट संविधान जारी हुनु जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तीव्रताले देशमा परिवर्तनकाक्रम बढेको छ”, उनले भने, “विकास र समृद्धिको अभियान सञ्चालन भएसँगै यो परिवर्तनले नेपालीको मुहारमा पनि उज्यालो ल्याउनेछ ।” प्रधानमन्त्री ओलीले लोकतन्त्रको वास्तविक रक्षा गर्दै जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने काम गर्ने बताए ।
“हामी औषतमा प्रतिव्यक्ति आय बढ्यो, औषतमा साक्षरता बढ्यो भन्ने कुरामा विश्वास गर्दैनौँ”, उनले भने, “हरेक व्यक्तिले महसुस गर्नेगरी समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौँ । सरकार सामाजिक न्यायसहितको समानताको पक्षमा छ ।” प्रधानमन्त्री ओलीले सुशासन, पारदर्शीता र उत्तरदायी भएर जनतालाई सहुलियत सेवा कसरी बनाउने भन्नेमा सरकार प्रतिवद्ध भएर लागेको दावी गरे । उनले सामाजिक न्यायसहितको समाजवाद ल्याउन आफूहरु लागिपरेको भन्दै शिक्षा र स्वास्थ्यमा गुणात्मक परिवर्तन आवश्यक रहेको धारणा राखे ।
