काठमाडौं : धावनमार्ग मर्मतका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ८५ उडान प्रभावित हुने भएका छन्। मर्मतको काम चैत १८ बाट सुरु गरी तीन महिनामा पूरा गर्ने लक्ष्य छ। यसबाट दैनिक अन्तर्राष्ट्रिय वायुसेवाका २२ देखि २५ र आन्तरिक वायुसेवाका ६० उडान प्रभावित हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ।

राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान बन्द गरेर धावनमार्ग मर्मत गरिँदै छ। तीन महिनासम्म आन्तरिक तथा बाह्य उडान दैनिक ९ घण्टा ठप्प हुनेछ। राति हुने अन्तर्राष्ट्रिय वायुसेवाका उडानलाई बिहान ८ बजेपछि र बिहान ८ बजेपछि हुने आन्तरिक उडानलाई दुई घण्टा पछाडि सार्नुपर्ने हुन्छ। यस कारण दिउँसो उडान चाप बढ्ने र व्यवस्थापन मिलाउनसमेत गाह्रोपर्ने विमानस्थल कार्यालयले अन्नपूर्णलाई जानकारी दिएको छ।

आन्तरिक वायुसेवाका नियमित उडानमा कम्तीमा १० देखि १५ प्रतिशतले उडान कटौती हुने भएका छन्। बाँकीलाई भने बिहान ८ बजे विमानस्थल खुलेदेखि राति १० बजेभित्रै मिलाउने गरी तयारी भएको विमानस्थलका उपनिर्देशक सीताराम भण्डारीले अन्नपूर्णलाई जानकारी दिए। उनका अनुसार यो समयमा बिहान हुने लुक्ला उडान सबैभन्दा बढी प्रभावित हुने छ। यसका लागि आन्तरिक वायुसेवाले रामेछापबाट लुक्ला उडान गर्ने तयारी गरिरहेको छ।

आन्तरिक उडानका वायुसेवाको बिहान ६ देखि ८ बजेभित्र हुने करिब ६० वटा उडानमा लुक्ला, माउन्टेन फ्लाइट, सहरी क्षेत्रका विमानस्थललगायत छन्। अन्य उडानलाई केही समय पछाडि धकेल्दा फरक नपर्ने भए पनि लुक्ला उडान भने सामान्यताः बिहानै सकिने भएकाले बढी प्रभावित हुनेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version