चितवन : दुर्लभ मानिएको एक सिङ्गे गैडा मर्ने क्रम बढेको छ। चालु आर्थिक वर्षको नौ महिनामा चितवनमा ४१ वटा गैंडा मरेका छन्। साउनयता चितवन राष्ट्रिय निकुञ्जमा ३९ र डिभिजन वन कार्यालय भरतपुरको कार्यक्षेत्रमा २ गैंडा मरेका छन्। प्राकृतिक तथा कालगतिले गैंडा मरेका हुन्।

मरेका गैंडामा एकदेखि दश वर्षका सातवटा, बीस वर्षसम्मका पाँच, ३० वर्षसम्मका सात र ३० वर्षभन्दामाथिका ५ वटा गैंडा छन्। सत्रवटाको मरेपछि कंकाल मात्रै फेला परेको थियो। प्राकृतिक कारणबाट गैंडा मर्ने क्रम बढेकोमा संरक्षणकर्मीले चिन्ता ब्यक्त गरेका छन्। प्राकृतिक कारणले गैंडा मरेपनि त्यसको कारण पत्ता लागेको छैन। गत वर्ष २६ गैंडा प्राकृतिक कारणले मरेका थिए।

कतिपय गैंडा आपसमा जुधेर पनि मर्ने गरेका छन्। पोथीसँगको संसर्गका बेला भाले जुध्ने गर्छन्। केही गोही र साना बच्चा बाघको आक्रमणमा परेर मर्छन्। यो वर्ष गैंडा मर्नुको मुख्य कारण बासस्थान र बाढीलाई मानिएको छ। घाँसै मैदानको व्यवस्थापन र तालतलैया कम हुनु पनि कारण भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताए।

गैंडा धेरै भएको स्थानमा जुध्ने खतरा बढी हुन्छ। ‘बासस्थान र बाढीले बढी मरे भन्ने लागेको छ’, ढकालले भने।

चोरी शिकारीबाट गैंडा जोगाए पनि प्राकृतिक कारणले मर्ने क्रम बढेको छ। धेरै गैंडा मर्न थालेपछि अनुसन्धान थालिएको छ। पानीको गुणस्तरीयताको समेत परीक्षण गरिएको छ। मरेका गैंडाको अंगसमेत परीक्षणका लागि लगिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अनुसन्धान थालेको हो। ‘गंैडा मरेको बारेको अनुसन्धान भइरहेको छ’, निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले भने, ‘प्राकृतिक नै भए पनि धेरै मरेकाले चिन्ता बढेको हो।’ यो समाचार अन्नपुर्ण पोस्टबाट लिइएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version