गाईघाट: डेढ वर्षदेखि सिमेन्ट उत्पादनमा फड्को मार्दै आएको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले सिमेन्ट उत्पादनको क्षमता वृद्धि गर्दै लगे पनि विद्युत् आपूर्तिको कारण समय–समयमा सिमेन्ट उत्पादनमा समस्या झेल्दै आएको छ ।

एक महीनासम्म धनुषा ढल्केबर क्षेत्रबाट सिमेन्ट उद्योगमा आपूर्ति हुने विद्युत् आपूर्तिमा समस्या आएको कारण सिमेन्ट उत्पादनमा ह्रास आउन थालेको बेला अहिले एक हप्तादेखि विद्युत् आपूर्ति पुनः सहज भएपछि उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादन गर्न थालेको छ ।

सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहका अनुसार तीव्र गतिमा उद्योगले सिमेन्ट उत्पादन गरिरहेको बेला गत माघको पहिलो हप्तादेखि फागुनभर धनुषा, ढल्केबर विद्युत् आपूर्ति केन्द्रबाट नियमित विद्युत् आपूर्ति नहुँदा उद्योगमा सिमेन्ट उत्पादन कार्य ह्वात्तै घटेको थियो तर अहिले सम्बन्धित निकायमा ध्यानाकर्षण गराएर विद्युत् आपूर्ति सहज भएपछि एक हप्तादेखि उद्योगले दैनिक १८ हजार बोरासम्मअर्थात् ८०० मेट्रिक टनभन्दा बढी गैँडाछाप सिमेन्ट उत्पादन गर्न थालेको छ ।

उद्योगको सिमेन्ट उत्पादन गर्ने पूर्ण क्षमता दैनिक ८०० मेट्रिक टन हो । डेढ वर्ष अघिसम्म विद्युत् आपूर्तिकै कारण घाटामा रहेको उदयपुर सिमेन्ट उद्योगले विद्युत् आपूर्ति सहज भएपछि वार्षिक अर्बौं रुपैयाँको आम्दानी गर्न थालेको छ । तर पटक–पटक हुने विद्युत् अवरोधको कारण उद्योगले सोचेजस्तो सिमेन्ट उत्पादन गर्न नसक्दा घाटा ब्यहोर्नुपरेको उद्योग प्रशासन बताउँछन् ।

अहिले विद्युत् आपूर्ति सहज भएपछि सिमेन्ट उद्योगले प्रत्येक दिन रु तीन करोड मूल्य बराबरको सिमेन्ट उत्पादन गर्न शुरु गरेको उद्योग प्रशासनले बताएको छ । उद्योगमा अहिले ४३९ मजदूर तथा कर्मचारी रहेका छन् भने कर्मचारीको लागि मासिक रु एक करोड ३२ लाख र विद्युत्मा अढाइ करोड खर्च हुने गरेको बताइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version