काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वमन्त्री सोमप्रसाद पाण्डेले सरकार अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

उनले भने,‘डाक्टर केसीसँग वार्ता गर्न हामी तयार छौं, उहाँलाई काठमाडौं ल्याएर वार्ता गर्छौं, सबैको सल्लाह अनुसार उनलाई काठमाडौं ल्याउनको लागि सरकार तयारी अवस्थामा छ, हेलिकप्टरसमेत स्ट्याण्डमा छ, मुलुकको आवश्यकत्ता अनुसार हामी परामर्श र छलफल गर्न तयार छौं।’

पाण्डेले अनशनरत डा. गोविन्द केसीका जायज माग सरकारले सम्बोधन गर्ने र केही माग परिमार्जन गर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा नेता पाण्डेले उनलाई अनशन तोडेर वार्तामा आउन सरकारले आग्रह गरेको बताउँदै काठमाडौँ ल्याएर वार्ता गर्ने तयारी भइरहेको जानकारी दिए ।

नेपाली विद्यार्थीहरू एमबिबिएस अध्ययन गर्न विदेश जाँदा करिब १५ अर्ब ५३ करोड रुपैयाँ राज्यबाट विदेशिएको अवस्थामा त्यसलाई रोक्न डा. केसीका केही माग बाधक रहेको बताए ।

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले डा. केसीको सत्याग्रहमा कांग्रेसको नैतिक समर्थन रहेको बताउँदै सरकारले जस्ताको तस्तै पुरानो विधेयक ल्याएमा आफ्नो पार्टीले समर्थन गर्ने त्यसलाई तोडमोड गरेर ल्याए विरोध गर्ने बताए ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले अनशनरत डा.केसीको जीवन रक्षाको माग गर्दै सरकारले जुम्लामा नै गएर वार्ता गर्नुपर्ने सुझाव दिए ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले अनशनरत डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएकाले सरकार संवेदनशील भई चाँडो वार्ता गर्न पहल गर्नुपर्नेमा जोड दिए ।

उनको जीवन रक्षाका लागि प्रधानमन्त्रीलाई संघले अवगत गराएको जानकारी दिँदै सरकारले डाक्टर केसीसँग वार्ता गर्न चाहेको भए संघले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version