काठमाडौँ: संवैधानिक परिषद्ले रिक्त प्रमुख निर्वाचन आयुक्तमा नेपाल सरकारका सचिव दिनेशकुमार थपलियालाई सिफारिश गरेको छ ।

 

सङ्खुवासभाका थपलिया सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुनुहुन्छ ।

 

यसअघिका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र सदस्य इला शर्मा आइतबार मात्र सेवानिवृत्त हुनुभएको थियो । निर्वाचन आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्त गरी पाँच जना सदस्य रहन्छन् । हाल नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीर शाह आयोगका सदस्य हुनुहुन्छ ।

 

परिषद्को आज सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको परिषद्का सदस्य राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । परिषद्ले राष्ट्रिय समावेशी आयोगका सदस्यमा मकवानपुरकी अधिकारकर्मी विष्णुमाया ओझालाई पनि सिफारिस गरेको छ ।

 

परिषद्का सदस्य एवं प्रतिनिधिसभामा विपक्षी दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक भएकाले परिषद् बैठकमा उपस्थित हुन नसक्ने भनी कारणसहितको लिखित पत्र पठाउनुभएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version