राजविराज : सप्तरीमा जारी एसईई परीक्षाअन्तर्गत विज्ञान विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि प्रदेश २ को विज्ञान विषयको परीक्षा रद्द भएको छ। प्रश्नपत्र बुधबार राति नै बाहिरिएको तथ्य पुष्टि भएपछि माध्यमिक शिक्षा परीक्षा सञ्चालन समिति सप्तरीको सिफारिसमा राष्ट्रिय परीक्षा बोर्डले प्रदेश-२ मा बिहीबार लिएको एसईई परीक्षा रद्ध गरेको हो।
बिहीबार बसेको बोर्डको बैठकले विज्ञान विषयको परीक्षा रद्द गरी आगामी चैत २२ गते परीक्षा लिने निर्णय गरेको परीक्षा नियन्त्रक (कक्षा १०) बिष्णु अधिकारीले बताए। अधिकारीका अनुसार अनिवार्य ६ वटा विषयको प्रश्नपत्र प्रदेश अनुसार फरक-फरक बनाइएकाले प्रदेश २ मा लिइएको परीक्षा मात्र रद्द गरिएको हो। यसले करिब ७० हजार पाँच सय ६८ परीक्षार्थी प्रभावित भएका छन्। अरु प्रदेशमा भने परीक्षा तालिकाअनुसार नै परीक्षा सञ्चालन हुने भएको छ।
छानबिन समिति
विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि बोर्ड बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।बैठकले परीक्षा बोर्डकी सदस्य प्राध्यापक अमुदा श्रेष्ठको संयोजकत्वमा शिक्षा विकास तथा समन्वय निर्देशनालय प्रदेश २ का निर्देशक रमाकान्त शर्मा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव रमेश मैनाली र राष्ट्रिय परीक्षा बोर्डका शाखा अधिकृत रमेश अधिकारी रहेको छानबिन समिति समेत गठन गरेको छ।समितिले १५ दिनभित्र प्रश्नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धान गरेर बोर्डलाई प्रतिवेदन पेश गर्नुपर्नेछ।
