काठमाडौँ: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सांगठनिक संरचना खुम्चिँदै गएको छ। दुई वर्षअघि थवाङ महाधिवेशनमा निर्वाचित केन्द्रीय समितिका झन्डै दुई दर्जन नेता अहिले केन्द्रीय समितिमा छैनन्। एक दर्जन नेता सत्तारूढ नेकपामा छिरिसकेका छन् भने केही नेता निष्क्रिय छन्।

पार्टीभित्रै महासचिव विप्लव र नेता खडकबहादुर विश्वकर्माबीच अन्तरविरोध बढ्दो छ। विप्लवका गतिविधिमा सरकारले प्रतिबन्ध लगाएपछि प्रभावशाली चार नेता प्रहरी हिरासतमा छन्।

६१ बाट झरेर ४१ केन्द्रीय समिति

२०७३ फागुनमा रोल्पामा भएको आठौं महाधिवेशनले पार्टीको नाम फेरेर नेकपा मात्रै राखेन, ६१ सदस्यीय केन्द्रीय समिति पनि बनायो। तर दुई वर्ष नबित्दै केन्द्रीय समिति ४१ मा आइपुगेको छ।

त्यस बेलाका केन्द्रीय सदस्य शरदसिंह भण्डारी, झकबहादुर मल्ल ‘सुदीप’, राजेन्द्र कार्की ‘नवीन’, टेकबहादुर बलम्पाखी, जीवन खड्का ‘गगन’, महेश केसी ‘पारसमणि’ लगायत सत्तारूढ नेकपामा छिरिसकेका छन्। वयोवृद्ध नेता चित्रबहादुर आले ‘पवन’, देवीदत्त पाण्डे, हेमराज भट्टराई, मंगल विश्वकर्मा, सम्झना घर्तीलगायत निष्क्रिय छन्।

कोसी ब्युरो इन्चार्ज किरण राई, महाकाली ब्युरो इन्चार्ज सविता सिंह र नेता नारायण महर्जन पार्टी राजनीतिमा निष्क्रिय छन्। ४१ सदस्यीय केन्द्रीय समितिका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’, पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’, केन्द्रीय सदस्यद्वय वसन्त श्रेष्ठ ‘प्रज्ज्वलन’ र बन्धु चन्द समातिएका छन्। यो समाचार अन्नपुर्ण पोस्टबाट लिइएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version