काठमाडौं: मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गामा भाटभटेनी सुपरमार्केट र गैरआवासीय नेपाली संघ (एनआरएनए) का भौतिक संरचना निर्माण गरिएको तथ्य खुलेको छ।

 

अख्तियार दुरूपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार डिल्लीबजार मालपोत कार्यालयका कर्मचारीसँग मिलेर ललितानिवासका तत्कालीन भोगाधिकारीले भूमाफिया र व्यापारीलाई अनधिकृत रूपमा बिक्री गरेको जग्गामा भाटभटेनी र एनआरएनएले भौतिक संरचना बनाएका हुन्। स्रोतका अनुसार ती दुवै संरचना र त्यससँग जोडिएको जग्गा पुनः सरकारका नाममा ल्याउने तयारी भइरहेको छ।

 

भाटभटेनीका सञ्चालकले राणा परिवारबाट तथा एनआरएनएले जग्गा हडप्ने मुख्य योजनाकार (मतियार) मध्ये रामकुमार सुवेदी, शोभाकान्त ढकाल तथा उनका आफन्तबाट सो जग्गा खरिद गरेका थिए।

 

भाटभटेनीका सञ्चालकहरूका नाममा व्यक्तिगत र संयुक्त गरी करिब ६० रोपनी तथा एनआरएनएका नाममा तीन रोपनी एक आना जग्गा बिक्री गरिएको छ। त्यसबाहेक ललितानिवासका तत्कालीन भोगाधिकारीले अन्य भूमाफिया र मालपोत कार्यालका तत्कालीन कर्मचारीलाई पनि जग्गा बिक्री गरेको पाइएको अनुसन्धानमा संलग्न स्रोतको भनाइ छ। २०७१ फागुन तेस्रो साता प्रधानमन्त्री सुशील कोइरालाले एनआरएन भवन शिलान्यास गरेका थिए। भवन शिलान्यासका क्रममा तत्कालीन एनआरएनका अध्यक्ष शेष घलेले भवनको लागत ३० करोडभन्दा बढी रहेको बताएका थिए। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version