काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रियामा विवाद उत्पन्न भएपछि दुई अध्यक्षले असन्तुष्ट नेताहरुलाई एक्लाएक्लै भेट गर्न थालेका छन्। पार्टी एकीकरण प्रक्रियामा माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले असन्तुष्टि व्यक्त गरिरहेकै बेला प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले उनीहरुसँग बेग्लाबेग्लै भेट गरी छलफल थालेका हुन्।

 

पार्टी अध्यक्षद्वयले आइतबार बिहान गौतमलाई बालुवाटार बोलाएर एकीकरण विवादका विषयमा कुराकानी गरेका छन्। अध्यक्ष ओलीले एकीकरण प्रक्रिया टुंग्याउन जिल्ला कमिटी गठन पनि आकस्मिक रुपमा टुंगिने अभिव्यक्ति दिएलगत्तै नेपाल समूहले छलफल नगरी टुंग्याए समानन्तर जिल्ला कमिटी बनाउने चेतावनी दिएपछि अध्यक्षद्वयले उनीहरुसँग बेग्लाबेग्लै छलफल थालेका हुन्। आइतबार बिहान भएको छलफलमा सचिवालय सदस्य गौतमले एकीकरण प्रक्रिया सबै पक्षलाई मान्य हुनेगरी टुंग्याउन अध्यक्षद्वयलाई सुझाव दिएका थिए। ‘एकीकरणकै विषयमा छलफल भयो। केही कमजोरी देखिएका छन्।

 

तिनीहरुलाई सच्याउनुपर्ने आवश्यकता छ। त्यसैअनुसार सुझाव दिइएको छ’, सचिवालय सदस्य गौतमलाई उद्धत गर्दै स्रोतले भन्यो, ‘नेता कार्यकर्तामा देखिएको निराशा कम गर्न र उचित जिम्मेवारी दिन अध्यक्षद्वयलाई उहाँको अनुरोध थियो।’

 

दुईतिहाइ बहुमतका साथ देशको नेतृत्व गरिरहेको अवस्थामा पार्टीका समानान्तर जिल्ला कमिटी बने त्यसले पार्टी र सरकार दुवैमा नकारात्मक असर पर्ने निष्कर्षसहित अध्यक्षद्वयले सकेसम्म सहमतिबाटै जिल्लाको नेतृत्व टुंग्याउनेगरी छलफल थालेको ओलीनिकट स्रोतले जानकारी दियो। एकीकरणका सम्बन्धमा पार्टी सचिवालयमा रहेका शीर्ष नेताहरूले नै आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएकोमा ‘नोट अफ डिसेन्ट’ लेखेर अध्यक्षद्वय ओली र दाहालको पार्टी सञ्चालन कार्यशैलीको बारम्बार प्रतिवाद गर्दै आएका छन्। यसले गर्दा राम्रा कामको पनि प्रचार हुन नसकी सरकारको आलोचना बढेको ओली समूहको ठम्याइ छ। यो समाचार नागरिक दैनिकमा छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version