काठमाडौं – करिब १२ हजार निजामती कर्मचारीले सरकारले खटाएको ठाउँमा जान अस्वीकार गरेका छन्। समायोजनमा असन्तुष्टि जनाउँदै ती कर्मचारीले अहिलेसम्म समायोजनको चिठीसमेत बुझेका छैनन्।

 

संघीय मामिला मन्त्रालयले करिब १२ हजार कर्मचारीले समायोजनको चिठी नबुझेको बताएको छ। मन्त्रालयले समायोजनको चिठी सम्बन्धित मन्त्रालयमै पठाउने गरे पनि असन्तुष्ट कर्मचारीले भने चिठी नबुझी समायोजन परिमार्जन गर्न मन्त्रालयसँग गुनासो राखेका छन्।

 

गुनासो राख्दै मन्त्रालयमा निवदेन दिने कर्मचारीमध्ये धेरैजसोले समायोजनको चिठी नबुझेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले जायज गुनासोे मात्रै सम्बोधन गर्ने नीति बनाएको छ। सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रालयमा आएका गुुनासोमध्ये धेरैजसो गुनासो असन्दार्भिक र नाजायज रहेको दाबी गरे। उनले भने, ‘जायज गुनासो सम्बोधन हुन्छ तर नाजायाजको सम्बोधन हुन सक्दैन,’ उनले भने, ‘अब म सबै गुनासोबारे अध्यन गर्छु। मनको बह मात्र खोज्नेहरूका लागि भने केही गर्न सकिन्न।’

 

उनले खटाएको ठाउँमा नजाने कर्मचारी बखास्त गर्ने चेतावनी दिए। ‘सरकारले खटाएको ठाउँमा कर्मचारी जानैपर्छ। नजाने कर्मचारीले जागिर छाड्नु पर्छ,’ उनले भने। सरकारले समायोजनसँग असन्तुष्ट कर्मचारीका गुनासा सुन्न सहसचिव रूपनारायण भट्टराईको संयोजकत्वमा गुनासो सुनवाइ समिति गठन गरेको छ।

 

समितिले चैत २० गतेभित्र गुनासो बुझाउन कर्मचारीलाई आह्वान गरेको थियो। समायोजनको चिठी नबुझ्ने कर्मचारीले अहिले दिनहुँजसो मन्त्रालयमा भीड लगाउने गरेका छन्। यो समाचार नागरिक दैनिकमा रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version