काठमाडौं: प्रदेश सरकारले आफ्नो प्रदेशमा दिने सार्वजनिक बिदा सम्बन्धित प्रदेशका संघीय कार्यालयहरुमा पनि लागू हुने भएको छ ।

 

केही दिनअघि बसेको संघीय मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारले दिने सार्वजनिक विदा संघीय सरकार अन्तर्गतका कार्यालयहरुमा पनि लागू गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए ।

 

‘यो एउटा गुनासो थियो, त्यो अब समाप्त भएको छ’ बिहिबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले भने । यसअघि प्रदेश सरकारले घोषणा गरेको सार्वजनिक विदामा संघीय सरकार अन्तर्गतका कार्यालयहरु खुल्ने गरेका थिए । यसमा प्रदेश सरकारहरुले असहमति जनाउँदै आएका थिए ।

 

तर प्रदेशले घोषणा गरेको विदा काठमाडौं उपत्यकामा भने लागू हुने छैन । काठमाडौंमा भने गृह मन्त्रालयले निर्णय गरेमा मात्र विदा हुनेछ । यदि प्रदेशले सार्वजनिक विदा दिएको दिन गृह मन्त्रालयले विदा नदिएमा संघीय सरकार अन्तर्गतका कार्यालयहरु खुल्नेछन् ।

 

प्रदेश सरकारले आ–आफ्नो विशेषता बमोजिम एक वर्षमा ६ दिनसम्म सार्वजनिक विदा घोषणा गर्न सक्छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version