काठमाडौं : शेयर बजारमा उत्साह आज पनि कायम रहेको छ । कारोबार रकम लगातार बढ्दै जाँदा बजारमा नयाँ लगानीकर्ताको प्रवेश भएको अनुमानहरु भइरहेका छन् ।
लामो समयदेखि बजार घट्दा पीडित बनेका लगानीकर्ताले थोरै भए पनि राहत पाएका छन् ।
तेस्रो त्रैमासको आशा लाग्दो वित्तीय विवरण सार्वजनिक हुने अपेक्षामा लगानीकर्ता रहेका छन् । बैंकिङ प्रणालीमा पनि क्रमशः तरलता सहज हुने बुझाई लगानीकर्तामा रहेको पाइन्छ ।
नेप्से सूचक बुधबार ४.९९ अंकले बढेर १२१७.०४ विन्दुमा आइपुगेको छ । १७१ कम्पनीको ८२ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । २८ लाख १ हजार ६१३ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
मंगलबार नेप्से २३. ३३ अंकले र सोमबार ४ अंकले बढेको थियो । बाणिज्य बैंक, विकास बैंक, होटेल र जीवन बिमा समूहको परिसूचकमा वृद्धि हुँदा समग्र नेप्से बढेको हो ।
