काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमलाई दुईवटा ठूला जहाज (वाइडबडी) बिक्रीमा संलग्न रहेका पाँचवटा अन्तर्राष्ट्रिय कम्पनीका प्रतिनिधिलाई बोलाएको छ।
दोस्रोपटक सूचना जारी गर्दै अख्तियारले आयरल्यान्डको हाईफ्लाई एक्स, अमेरिकन कम्पनी एएआर इन्टरनेशनल, जर्मन एभियन क्यापिटल जीएमबीएम र पोर्चुगलको हाईफ्लाई एयरलाइन्स,र जर्मनीको नर्टन रोज फुलब्राइट कम्पनीका प्रतिनिधिलाई बयानका लागि बोलाएको हो ।
बिहीबार सूचना जारी गर्दै अख्तियारले ७ दिनभित्र आफ्नो कार्यालयमा उपस्थित हुन भनेको छ । यदि तोकिएको समयसीमाभित्र बयानका लागि नआए कानूनी रुपमा नै प्रक्रिया अघि बढाइने अख्तियारले जनाएको छ ।
नेपाल वायुसेवा निगमले खरिद गरेको दुई वटा वाइडबडी विमानमा ४ अर्ब भ्रष्टाचार भएको लेखा समितिको प्रतिवेदनका आधारमा अख्तियारले छानविन गरिरहेको छ । यस क्रममा उसले खरिद प्रक्रियामा संलग्न निगमको सञ्चालक समितिका पूर्व पदाधिकारी, निगमका कर्मचारी लगायतसँग वयान लिएको छ।
अब अख्तियारले विमान खरिदमा विभिन्न किसिमबाट संलग्न भएका कम्पनीसाग पनि वयान लिन सुरु गरेको हो । निगमले विमान खरिदका लागि अमेरिकी एएआर कम्पनीलाई छनोट गरेको थियो ।
