काठमाडौं: पोखरा विश्वविद्यालयका ४२ आंगिक कलेजका तीन सय ९१ विद्यार्थीले परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन्। ती कलेजले ग्रेडिङसम्बन्धी मापदण्ड मिचेर भर्ना लिएका विद्यार्थीहरूको विश्वविद्यालयको रजिस्ट्रेसन नभएपछि उनीहरू परीक्षा दिनबाट वञ्चित बनेका थिए।
विश्वविद्यालयले व्यवस्थापन संकायका नियमित विद्यार्थीहरूको वैशाख ६ गते देखि सञ्चालन हुने पुनः परीक्षासँगै आफूहरूको पनि परीक्षा हुनुपर्ने भन्दै पीडित विद्यार्थीहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए।
त्यसक्रममा उनीहरूले विश्वविद्यालयले मान्यता दिएको निजी कलेजमा शुल्क तिरेर पढेको र कलेजहरूले परीक्षामा सहभागिता गराउने प्रतिबद्धतासाथ भर्ना गरेको भन्दै परीक्षा दिने अधिकार सुरक्षित गरिनुपर्ने आवाज उठाए।
