हुम्ला: हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण एक सातामै आठ जनाको मृत्यु भएको छ।

 

टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउनेजस्ता रोगले एकै गाउँपालिकाका ८ जनाको मृत्यु भएको हो भने १२ जना विरामी छन्।

 

पहिचान नखुलेको रोगका कारण शुक्रबारसम्म ८ जनाको मृत्यु भइसकेको स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले जानकारी दिए। रोगको पहिचान नभएको र उपचार नपाउँदा विरामी बढेका छन्।

 

एक हप्ताअघि पानी परेसँगै फैलिएको रोगले ताँजाकोट १ का ७० वर्षीय कुशुमा रिठाल, ६० वर्षीय सुरजित खड्का, वडा नं २ का ५५ वर्षीय रङ्गे कोली, ५ वर्षकी सुनकेसा सुनार, वडा नं ३ का ७० वर्षीय अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महीनाका बालक सञ्जिव थापा रहेको मैला स्वास्थ्य चौकीका अहेब जैशीले जानकारी दिए।

 

मैला र मदान गाउँका मानिस विरामी छन्। पर्याप्त औषधी नभएको र स्वास्थ्यकर्मी पनि गाउँमा नभएकोले विरामीको उपचारमा समस्या आएको गाउँलेहरुको गुनासो छ। गाउँपालिका अध्यक्ष बाग्चल छत्याल मल्लका अनुसार श्वासप्रश्वास र दम सम्बन्धी समस्या देखिएका गाउँलेहरुको मृत्यु भएको छ।

 

रोगको रोगथाम गर्न सामाजिक विकास मन्त्रालयबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली घटनास्थलमा जाने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मल्लले बताए।

 

रोग सङ्क्रमित गाउँमा शिविर सञ्चालन भइरहेको र कुनै पनि स्वास्थ्य संस्थाका कर्मचारीलाई कार्यक्षेत्र नछाड्न निर्देशन दिएको अध्यक्ष मल्लले बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version