काठमाडौँ: भूमि सुधारमन्त्री पद्मा अर्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलको बालुवाटारमा रहेको जग्गा वैधानिक भएको दाबी गरेकी छन्।

 

ललिता निवासको सरकारी जग्गा छोरा नवीनको नाममा ल्याएको देखिएपछि विवादमा तानिएका पौडेलको बचाउ गर्दै मन्त्री अर्यालले मोहीबाट जग्गा किनेको देखिएकोले पौडेलको जग्गा वैधानिक भएको बताइन्।

 

‘विष्णु पौडेलले किनेको जग्गा मोही कायम भएको जग्गा हो। नेपाल सरकारले नै मोही कायम गरेर हक दिएकोले त्यो वैधानिक छ,’ शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भनिन्, ‘मोही किटान भएर मोही कायम भएको जग्गा उहाँ (विष्णु पौडेल)को छोराको नाममा हस्तान्तरण भएको छ।’

 

उनकाअनुसार प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश निवास विस्तार गर्दा व्यक्तिको जग्गा लिएर ललितानिवासमा सट्टा दिएको र त्यसमध्ये केही राजकुलो, बाटो भएको पाइएको मन्त्री अर्यालले बताइन् ।

 

यसबारे छानविन भइरहेको भन्दै मन्त्री भनिन्, जहाँसम्म विष्णु पौडेलको छोरा नविनले किन्नु भएको जग्गा छ, त्यो मोही कायम भएको जग्गा हो ।’

 

सरकारले नै मोही कामय गरेर व्यक्तिमा हस्तान्तरण हुँदै छैटौं व्यक्तिका रुपमा नविनको नाममा पुगेको भन्दै उनले यो जग्गा जफत नहुने बताइन् ।

 

नेता, ठूला मान्छेसँग जोडिएर जग्गाबारे विवाद भएपछि मन्त्रालयले अध्ययन गरे पनि मोहीबाट हस्तान्तरण भएको जग्गा देखिएकोले पौडेलको जग्गा वैधानिक भएको उनको भनाइ छ।

 

‘मोही कायम भएर पुर्जा बनेर छैटौं मान्छेको रूपमा पौडेलले जग्गा प्राप्त गर्नुभएको देखिन्छ,’ उनले भनिन्, ‘मोहीको जग्गा किनेकोले वैधानिक छ। मोही कायम भएको जग्गामा सम्भवत अब प्रश्न उठ्दैन।’

 

सरकारी जग्गा व्यक्तिको नाममा गएको भए सरकारले नछाड्ने पनि उनले बताइन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version