काठमाडौँ: सरकारले लगानीको अभावमा पश्चिम सेती जलविद्युत आयोजना र बुढिगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नसकिएको स्पष्ट पारेको छ।
उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले लगानीको अभावमा राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत आयोजना र बुढिगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नसकिएको प्रष्टयाएका हुन्। मन्त्री पुनले स्थानीय जनतालाई विश्वासमा लिएर मात्रै कुनै पनि जलविद्युत आयोजनाको कामलाई अघि बढाउने प्रतिवद्धतासमेत व्यक्त गरे।
आइतबार उत्तरगंगा जलविद्युत आयोजना नदीको बहाव क्षेत्रमा नै निर्माण गर्न माग गर्दै पुगेका सरोकारवाला निकायसँगको छलफलमा मन्त्री पुनले स्थानीय जनता र राजनीतिक दलहरुको सहमतिमा मात्रै सो आयोजनाको कामलाई अघि बढाउने गरी अहिले त्यसको विस्तृत अध्ययनको कामलाई अघि बढाइएको पनि स्पष्ट पारे।
बाग्लुङ र रुकुम जिल्लाको सीमामा पर्ने सो आयोजनाको विस्तृत अध्ययनका लागि नेपाल विद्युत प्राधिकरणले आफ्नो काम अघि बढाएको छ। तर त्यो आयोजनाको काम अघि बढाउँदा नदीको बहाव अनुसार नै अघि बढाउनुपर्ने त्यस क्षेत्रका सांसदलगायतका जनप्रतिनिधिहरुको माग छ। मन्त्री पुनले प्राविधिकहरुले अध्ययन गरेपछि त्यसैको आधारमा छलफल गरेर सो आयोजनाको कामलाई अघि बढाउने सरकारको योजना रहेको पनि स्पष्ट पारे।
