काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी घोषणापत्रलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ ।

 

सोमबार बसेको नेकपा सचिवालयको अनौपचारिक बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्याक्रमबारे शीर्ष नेताहरुसँग सुझाव माग गरेपछि यस्तो सुझाव दिइएको हो ।

 

बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले पार्टीको घोषणापत्र अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएको सचिवालयका एक नेताले जानकारी दिए ।

 

‘आजको अनौपचारिक बैठकमा प्रधानमन्त्रीले आगामी नीति तथा कार्यक्रमबारे सुझाव माग्नु भएको थियो । हामीले सुझाव दिएका छौँ । मुख्यतः संविधानले भनेको समाजवाद उन्मुख नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिइएको छ, ती नेताले भने, ‘चुनावको घोषणापत्रलाई केन्द्रमा राख्न पर्यो । त्यसलाई उपेक्षा गर्न भएन ।’

 

त्यस्तै भूमिसुधार गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीलाई सुझाव दिइएको ती नेताले बताए ।

 

‘हामीले भूमिसुधार कार्यक्रमलाई प्राथमिकतामा राख्नु पर्छ । भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन सकेको छैन । सुशासन कायम हुन सकेको छैन । समाजवाद उन्मुख समृद्धि भनेको के हो, त्यसका मूल आधारहरु परिभाषित गरेर आउनु पर्छ भन्ने सुझाव दिएका छौँ, ती नेताले भने ।

 

अहिलेसम्म सरकारले गरेका काम र उपलव्धीको रक्षा साथै विस्तार गर्न पनि प्रधानमन्त्री ओलीलाई नेताहरुले सुझाव दिएका छन् ।

 

‘भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न अझै थप काम गर्न पर्ने देखिन्छ । यसमा समस्या देखा परेको छ, ती नेताले भने, ‘पुँजीगत खर्च कार्यान्वयनमा अझै राम्रो क्षमता अभिवृद्धि हुन सकेको छैन । अव त्यसको लागि अझै काम गर्नुपर्ने देखिन्छ ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version