काठमाडौँ: नेपाल वायुसेवा निगमले चैत मसान्तको किस्ता पनि तिर्न नसकेपछि नागरिक लगानी कोष तथा संचय कोषले हिसाव हेरेका छन्।
निगमले दुवै कोषलाई चैत मसान्तको ४०–४० करोड रुपैयाँ किस्ता बुझाउनुपर्छ। सम्झौताअनुसार किस्ताको अवधि सकिएको १५ दिनभित्र रकम बुझाउनुपर्ने छ।
‘दिइएको अन्तिम अवधिअनुसार पनि बैशाख १५ सम्म किस्ता बुझाउनुपर्ने हो, तर बुझाएको छैन’ नागरिक लगानी कोषका प्रवक्ता उद्धव सिलवालले भने।
दुवै कोषको प्रतिनिधी टोलीले निगमको हिसावकिताव पनि हेरेको उनले जानकारी दिए।
उनका अनुसार कोषलाई निगमले पुस मसान्तकै करिब २० करोड रुपैयाँ बुझाउन बाँकी छ। जुन रकम अर्थ मन्त्रालयले बुझाइदिने भनिए पनि प्राप्त नभएको कोषले जनाएको छ। ‘मन्त्रालयबाट प्रक्रियामै छ भन्नेजस्ता कुरा आउँछन्, प्रक्रिया नै अनिश्चित जस्तै भयो’ सिलवालले भने
निगमले संचय कोषको समेत पुस मसान्तकै किस्ता बाँकी छ। कोषका प्रशासकीय अधिकृत तुल्सीराम गौतमले निगमले पुस मसान्तसम्मकै किस्ता नतिरेको जानकारी दिए।
जापान उडान सुरु भएसँगै कोषहरुको रकम तिर्ने प्रतिबद्धता जनाउँदै निगमले पत्र पठाएको छ। ‘जापान उडान सुरु भएपछि सहज रुपमा किस्ता तिर्न सक्छौँ भनेर पत्र आएको छ’ सिलवालले भने।
वाइड बडी खरिदका क्रममा निगमले दुवै कोषसँग १२– १२ अर्ब रुपैयाँ ऋण लगेको थियो। सो ऋण रकम इएमआई क्याल्कुलेसनमार्फत निगमले प्रत्येक तीन तीन महिनामा तिर्दै जाने सहमति भएको थियो।
