काठमाडौँ: ‘समृद्ध नेपाल सुखी नेपाली’को दीर्घकालिन लक्ष्य भेट्ने लक्षसहित सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदैछ। सरकारले अबका वर्षलाई समृद्धिको खुड्किलो चढ्ने वर्ष बनाउने नीति सार्वजनिक गर्नेछ।

 

सरकारले चालु वर्षलाई (२०७५/०७६) आर्थिक समृद्धिको आधार बर्ष मानेको थियो । चालु नीति तथा कार्यक्रमले पहिलो वर्षलाई आधार वर्ष र त्यसपछिको वर्ष आर्थिक समृद्धिको वर्ष हुने उद्घोष गरेको थियो ।

 

आगामी वर्षमा दोहोरो अंकको आर्थिक बृद्धिदर र आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ । आयात प्रतिस्थापन गरी सवल अर्थतन्त्र बनाएर विश्वको अर्थतन्त्रसँग जोड्ने सरकारको नीति हुनेछ ।

 

गैर कृषिमा परिचालन हुने अवस्था सृजना गर्ने सरकारको लक्ष्य हुनेछ । दिगो विकासको लक्ष्य समय अगावै हासिल गर्ने, कृषिको उत्पादकत्व दोब्बर बनाउने, उत्पादनका सबै क्षेत्रमा २४ औँ घण्टा विद्युत आपुर्तिको व्यवस्था, वैकल्पिक उर्जा प्रविधिलाई प्रोत्साहन गर्ने सरकारको नीति हुनेछ ।

 

स्थानीय तहका केन्द्रलाई कालोपत्रेसँग जोड्ने, काठमाडौँ निजगढ द्रुतमार्ग, मध्यपहाडी राजमार्ग र हुलाकी राजमार्गको सम्पूर्ण काम समयमै सक्ने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्यलाई तीब्रता दिइने जस्ता नीति सरकारको हुनेछ ।

 

पोखरा क्षेत्रीय बिमानस्थल सञ्चालनमा ल्याउन, आन्तरिक बिमानस्थलको स्तर बृद्धि, प्रत्येक स्थानीय तहमा अस्पताल, रोजगारीका लागि विदेश जाने स्थितीको अन्त्य हुने, समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालिन उद्देश्य प्राप्त गर्ने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ ।

 

उद्योग यातायात, भौतिक पूर्वाधार, पर्याटन, सूचना प्रविधि लगायतका विकासमा नीति तथा कार्यक्रम केन्द्रित हुने देखिएको छ ।

 

संघिय संसदको शुक्रबार ४ बजे बस्ने संयूक्त बैठकमा सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम बाचन गर्नेछिन् ।

 

सरकारले नीति तथा कार्यक्रम ल्याएपछि संसदमा छलफल हुनेछ । यसअघि नीति तथा कार्यक्रमसम्बन्धी व्यापक छलफल भएपछि प्रस्तुत गर्ने गरिए पनि यसपटक भने छलफल नै नगरी नीति तथा कार्यक्रम ल्याइँदैछ ।

 

नीति तथा कार्यक्रम ल्याएपछि सो सम्बन्धमा संसदमा छलफल हुनेछ । प्रतिपक्ष नेपाली काग्रेस छलफलनै नगरी नीति तथा कार्यक्रम ल्याउन लागेकोमा असन्तुष्ट व्यक्त गरेको छ । बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्ने चलन छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version