काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा योजना पार्न भन्दै सूची सहित निजीसचिवालयबाट राष्ट्रिय योजना आयोगमा भूलबस चिठी गएको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताएका छन्।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको लेटरप्याडमा प्रधानमन्त्रीको निजी सचिवालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई सम्बोधन गरेको पत्र भूलवस गएको भन्दै उनले शुक्रबार विज्ञप्ति जारी गरेका छन्।

 

‘सांसद सम्पर्क कार्यालयमा संकलन गरिएका आयोजनाहरूको सूची सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन वेगर नै निजी सचिवालयबाट भूलबस राष्ट्रिय योजना आयोगमा सम्प्रेषण गरिएको रहेछ,’ विज्ञप्तिमा भनिएको छ।

 

उक्त सूची सहितको पत्रमा प्रधानमन्त्रीको क्षेत्र झापा ५ को सांसद सम्पर्क कार्यालयबाट योजना सिफारिस भई आएकोले ती योजनामा प्राथमिकताका साथ बजेट पार्न भनिएको थियो।

 

तर प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार अर्यालले भने त्यो पत्रको कुनै सान्दर्भिकता नरहेको बताएका छन्।

 

‘आफैले नेतृत्व गरेको मन्त्रिपरिषदको मातहतका मन्त्रालयहरूमा यो वा त्यो आयोजना समावेश गरिदिन पत्र लेख्ने वा आफै अध्यक्ष रहेको संस्थामा समाचार माध्याम र सामाजिक सञ्जालमा गरिएझैँ त्यसप्रकारको पत्र पठाउने वा निर्देशन दिने भन्ने कुरा आउँदैन,’ विज्ञप्तिमा भनिएको छ।

 

भूलबस पठाइएको भनिएको उक्त पत्रमा बजेट पार्नुपर्ने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, सहरी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत बेग्लाबेग्लै योजना थिए।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव बिनोदबहादुर कुँवरले हस्ताक्षर गरेको योजनाको सूचीसहितको पत्र चैत २९ गते योजना आयोगलाई पठाइएको थियो।

 

प्रधानमन्त्रीको क्षेत्रमा भ्यु टावर निर्माण, ढल निर्माण, सडक कालोपत्रे, खेलमैदान निर्माणजस्ता योजना प्राथमिकतामा थिए। योजनाको नाम, ठाउँ र अनुमानित बजेटसमेत पत्रमा खुलाइएको थियो भने कुनै डिपिआर भएका र कुनै नयाँ योजना समावेश थिए।

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उक्त चिठीको आलोचना गरेका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version