काठमाडौँ: नेपाल राष्ट्र बैंकले बोलकबोलमार्फत आठ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८५ ‘ग’ जारी गर्दै छ।
राष्ट्र बैंकले नौ वर्ष अवधिको ऋणपत्र जारी गर्नलागेको राष्ट्र ऋण व्यवस्थापन विभाग थापाथलीले जनाएको छ।
बोलकबोल प्रक्रियाद्वारा निष्काशन गरिनलागेको ऋणपत्र खरिद गर्न बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले समेत सक्नेछन्।
यसको ब्याज दर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। त्यस्तै यसलाई धितोकोरुपमा समेत प्रयोग गर्न पाइने तथा कर्जा लिन र दिन पाइनेछ।
ऋणपत्रको बोलकबोल आज अपराह्न ३ बजे हुनेछ भने निष्काशन आगामी ३ गते हुनेछ। यसको सावाँ भुक्तानी सन् २०८५ जेठ ३ गते मात्र हुनेछ।
त्यस्तै ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने तथा आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ।
इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने ऋणपत्र खरिद प्रक्रियामा छुट्टयाईएको रकम प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८० र २० प्रतिशत अर्थात ६ अर्ब ४० करोड र १ अर्ब ६० करोड छुट्याइएको छ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ। यसमा खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा हुनेछ।
ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन्। यस बैंकबाट इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन नपाउने तथा प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ ।
इच्छुक बोलवालाले बहु–ब्याजदरमा समेत बोल गर्न सक्ने राष्ट्र बैंकले जनाएकाे छ।
