काठमाडौं : पशुपतिनाथ मन्दिरको कमाइ सवा अर्बभन्दा बढी पुगेको छ। भेटी, विशेष पूजा, हुन्डीबाट १ अर्ब २९ करोड ३८ लाख ३१ हजार रुपैयाँ संकलन भएको हो। यही रकमबाट १ अर्बको अक्षय कोष स्थापना गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

 

श्रीपशुुुुपतिनाथको गुुुुठी जग्गा छानबिन तथा संरक्षण समितिले जग्गा छानबिन गर्ने क्रममा रकमको विवरण खुलेको कोषका कोषाध्यक्ष मिलनकुमार थापाले बताए। ‘मन्दिरका नाममा हालसम्म उक्त रकम बचत देखियो’, समितिका संयोजकसमेत रहेका थापाले भने, ‘यसबाटै अक्षय कोष स्थापना गरेका छौं।’

 

कोषले भेटी तथा पूजा व्यवस्थापन नियमावली बनाएर मन्दिरको भेटीघाटीलाई २०६८ चैत २० देखि व्यवस्थित गर्न थालेको थियो। दैनिक हजारौं भक्तजनले चढाउने भेटी र विशेष पूजाको रकम संकलन गरी बैंकमा राखिँदै आएको छ। अनादिकालदेखि सञ्चालनमा रहेको पशुपतिनाथको भेटीघाटीलाई २०६८ देखि व्यवस्थित गरिए पनि अक्षय कोष स्थापना गरिएको थिएन। भेटीलाई साँझ प्रहरीको रोहबरमा गणना गरी मुचुल्का तयार पारिन्छ। कोषका अनुसार मन्दिरमा दैनिक कम्तीमा १ लाख १५ हजार र बढीमा ३ लाख रुपैयाँसम्म संकलन भएको तथ्यांक छ। विशेष पूजामा ११ हजारको पञ्चामृत पूजादेखि २५ लाखको अतिरुद्रमहाभिषेकसम्म पर्छन्। २०६८ अघिसम्म १२ लाख ९९ हजार रुपैयाँसम्मको पूजा गर्न पाउने व्यवस्था थियो।

 

अक्षय कोष व्यवस्थित गरी उचित काममा प्रयोग गर्न त्यससम्बन्धी कार्यविधि कोषले बनाइरहेको छ। ‘कोषबाट आपत्विपद्का काम, समाजसेवा, शिक्षा, स्वास्थ्य र विकास निर्माणका काम गरिनेछन्’, उनले भने।

 

छानबिन समितिले मन्दिरका नाममा काठमाडौं उपत्यकामा १८ हजार आठ सय रोपनी जग्गा फेला पारेको छ। २ सय ३१ रोपनी १० आना १ दाम हराएको समितिको ठहर छ। १८ हजार ८ सय रोपनीमध्ये १७ हजार रोपनी जग्गाको आयस्ता भने वार्षिक ७४ लाख १७ हजार ९ सय ५३ रुपैयाँ छ। त्रिभुवन विमानस्थलले १ हजार १ सय ६२ रोपनी जग्गाको भाडाबापत वार्षिक १ करोड रुपैयाँ दिँदै आएको छ। कोषको सञ्चालक परिषद्को पछिल्लो बैठकले पशुपतिनाथका चल, अचल सम्पत्तिको खोजी र संरक्षण गर्ने र आम्दानीमध्येबाट अक्षय कोष स्थापना गरी समाजसेवामा खर्चिने निर्णय गरेको थियो। यो समाचार अन्नपुर्ण पोस्टबाट लिइएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version