काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले जनताको धैर्यताको बाँध टुट्न नदिन यसपटक वितरणमुखी बजेट ल्याइएको बताएका छन् ।
वृद्ध भत्ता, कर्मचारीको तलब वृद्धि तथा जनप्रतिनिधिलाई खर्च गर्न रकम उपलब्ध गराइएको तर्फ संकेत गर्दै अर्थमन्त्रीले जनतालाई धेरै पर्खाइरहन पनि उचित नहुने बताए । ‘जनताको धैर्यता टुट्न दिनु हुँदैन,’ अर्थ मन्त्रालयमा बिहीबार आयोजित बजेटपछिको अन्तरक्रिया कार्यक्रममा खतिवडाले भने ।
खतिवडाले जनताले चुनेको कारण नै सांसद्लाई ६ करोड रुपैयाँ दिनु परेको बताएका छन् ।
जनप्रतिनिधिले निर्वाचनमा विभिन्न काम गर्ने वाचा गरेका हुन्छन् । त्यही आधारमा निर्वाचित भएर आएका पनि हुन्छन् । हामी जननिर्वाचित हुने व्यवस्था अवलम्बन गर्दैछौं । यसर्थ जनप्रतिनिधिलाई पैसा दिनबाट रोक्नु न्यायोचित हुन्न्, अर्थमन्त्रीले प्रत्येक सांसदलाई दिइने ६ करोड रुपैयाँको बचाउ गर्दै भने ।
मुलुकको अर्थतन्त्रलाई आयातमुखीबाट अन्तरमुखी बनाउने प्रयास गरिएको उनले बताए । कतिपय आयात हुने बस्तुमा भन्सर दर बढाएर निरुत्साहित गरिएको छ । केहीमा परिमाणात्मक बन्देज लगाउनुपर्ने अवस्था छ । सिमेन्ट, रड लगायतका वस्तु आन्तरिक उत्पादनमै जोड दिने लक्ष्य रहेको समेत अर्थमन्त्रीले दोहोर्याए ।
बजेटले ८.५ प्रतिशत को आर्थिक वृद्धि लक्ष्य लिएको बताउँदै महँगीलाई ६.५ प्रतिशत भित्र सीमित गरिने उनले दाबी गरे ।
पुँजीगत खर्चको लक्ष्य भेट्टाउन आर्थिक वर्षको सुरुमै ढेक्का गर्ने तथा कामपछि तत्काल भुक्तानी दिने व्यवस्थालाई प्रभावकारी बनाइने अर्थमन्त्रीको भनाई छ । सरकारले श्रम र रोजगारीलाई प्राथमिकतामा पारेको छ ।
