काठमाडौं: शनिबारबाट रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगतको कोरियन भाषा परीक्षा सुरु भएको छ । आइतबारसम्म काठमाडौं र पोखरामा चल्ने भाषा परीक्षामा ९२ हजार ३५६ जना परीक्षार्थी सहभागी हुनुपर्ने हो ।

 

पहिलो दिन शनिबार ४६ हजार १९६ जनाले परीक्षा दिनुपर्ने पालो परेकोमा ४ हजार ३७ जना सहभागी नभएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

 

शनिबार ४७ जना परीक्षार्थी निष्कासित तथा पक्राउ भए । अरुको नाममा परीक्षा दिन आएहरुलाई नियन्त्रणमा लिइयो भने नियम विपरित परीक्षामा सहभागीहरु निष्कासित भएको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए ।

 

‘पक्राउ परेकामध्ये नक्कली परीक्षार्थीलाई सार्वजनिक मुद्दा चलाइनेछ,’ भुसालले भने,’घटनाको प्रकृति हेरेर मुद्दा दायर गरिनेछ ।’

 

आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । गत वर्ष पनि कोरियन भाषा परीक्षाका लागि ८२ हजारभन्दा बढीले आवेदन दिएका थिए ।

 

परीक्षाको नतिजा नतिजा असार १३ गते प्रकाशित हुनेछ । यो परीक्षाबाट छानेर उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ ।

 

जुन क्षेत्रका लागि परीक्षा आवेदन फारम भरेको हो, भाषा परीक्षा त्यस अन्तरगत दिनुपर्छ । गतवर्षभन्दा पनि अघिल्लो वर्षभन्दा ७ हजार बढी युवाले कोरिया जानका लागि आवेदन भरेका थिए । रोजगार अनुमति प्रणाली -ईपीएस) अन्तरगत सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम चैत ८ गतेबाट खुला भएको थियो ।

 

१८ वर्ष पूरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् । रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ ।

 

नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।

 

परीक्षा दिन आउँदा प्रवेशपत्र र सक्कल राहदानी अनिवार्य रुपमा नल्याउन आग्रह गरिएको छ । यस्तै परीक्षार्थीले उत्तरपुस्तिकामा चिन्ह लगाउने प्रयोजनमा कालो बलपेन नै प्रयोग गर्नुपर्नेछ ।

 

यस्तै परीक्षामा आउँदा मोबाइलसहित कुनै स्मार्ट डिभाइसहरु नबोक्न पनि ईपीएस कोरिया शाखाले अनुरोध गरेको छ । परीक्षामा नक्कली परीक्षा दिने र दिन लगाउनेलाई ३ वर्षसम्म भाषा परीक्षा दिन नपाउने गरी निष्काशन गरिन्छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version