काठमाडौँ: कास्की प्रहरीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता-कार्यकर्तालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईलगायत रहेका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
सो क्षेत्रमा केही दिनयता विप्लव समूहको गतिविधि बढेको भन्ने सूचनाका आधारमा केही दिनअघि देखि नै प्रहरीले अप्रेशन चलाएको थियो।
उनीहरुलाई आमा समूहको भवनबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। विप्लव समूहका नेता-कार्यकर्ता आमा समूहको भवनमा पार्टीको बैठकमा बसिरहेको अवस्थामा प्रहरीले घेरा हालेर उनीहरुलाई गिरफ्तार गरेको हो।
उनीहरुलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको छ। उनीहरुका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
