काठमाडौँ: पुनर्वहाली भएर मंगलबारदेखि नेपाल स्टक एक्सचेन्ज कर्यायमा हाजिर हुन पुगेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई हाजिर हुनबाट नेप्से सञ्चालक समिति अध्यक्ष लक्ष्मण न्यौपानेले रोकेका छन् ।
सर्वोच्च अदालतबाट अन्तरिम आदेश पाएर काममा फर्किएका साउदलाई न्यौपानेले हाजिर गर्न आजबाट रोकेका हुन् ।
यसैगरी नेप्से साइटमा प्राविधिक समस्या उत्पन्न भएको छ । यो समस्या समाधान गर्न काम गरिरहेका नेप्सेका आइटी प्रमुख निरञ्जन सिंह नायकलाई पनि अध्यक्ष न्यौपानेले हप्कीदप्की गरेका छन् । जसका कारण सेयर कारोबार हुनै सकेको छैन । उता, साउदलाई हटाएर अर्थ मन्त्रालयबाट सीइओको जिम्मेवारी पाएका रमेश अर्याल पनि नेप्सेमै हाजिर भएका छन् ।
अर्थ मन्त्रालयको आदेशमा अर्याल मन नपरीनपरी पनि नेप्सेमा आउन बाध्य भएको स्रोतले जानकारी गराएको छ । अर्यालले भने काममा अवरोध गरेका छैनन् । सरकारको चरम लापरवाहीका कारण ११ बजेर ४० मिनेट जाँदासम्म पनि सेयर कारोबार हुन सकेको छैन । यसबाट लगानीकर्ता मारमा परेका छन् । अनलाइन प्रणाली आउन लागेका बेला सेयर कारोबार नै रोकिनुलाई लगानीकर्ताले दूर्भाग्यपूर्ण भनेका छन् ।
केही बेर कारोबार भए पनि फेरि रोकिएको छ । एकै छिन कारोबार खुल्ने फेरि बन्द हुने गरेको ब्रोकरहरुले जानकारी गराएका छन् ।
