दार्चुला : नौगाढ गाउँपालिका–४ स्थित गणेश विनायक माविको शौचालयको सेफ्टी ट्यांकीको ढक्कन भासिँदा चार बालबालिकाको ज्यान गएको छ। ढक्कनमाथि खेल्दै गरेका १० वर्षीया अनुस्का धामी, ८ वर्षीय सुदिश धामी, ५ वर्षीया युनिका धामी र ७ वर्षीया निरुता ठगुन्नाको मृत्यु भएको हो।

 

‘सेफ्टी ट्यांकीको ढक्कनमाथि माटो राखेर मैदान बनाइएको थियो’, स्थानीय प्रतापसिंह ठगुन्नाले भने, ‘सोही मैदानमा बालबालिका खेल्दै थिए। ढक्कन भासिँदा उनीहरू सेफ्टी ट्यांकीमा परे।’

 

बालबालिकाको शव निकाल्न तीन घन्टा लागेको प्रहरी चौकी सिप्टीका इन्चार्ज देवदत्त भट्टले बताए। ‘माटोसहित बालबालिका ट्यांकीमा परेका रहेछन्। वर्षा भइरहेकाले बेलुका मात्रै शव निकाल्न सक्यौं,’ भट्टले भने।

 

शौचालय पाँच वर्षपहिले सांसद विकास कोषको ४० लाख रुपैयाँमा निर्माण गरिएको थियो। ‘बालबालिका पहिलादेखि नै सेफ्टी ट्यांकीमाथि खेल्थे। आज बिहान स्कुलमा पढेका बालबालिका साँझ खेल्दै गर्दा अचानक भत्किएको हो’, नौगाड गाउँपालिकाका कृष्ण ठगुन्नाले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version