काठमाडौं: पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा लगानी भित्र्याउनको लागि भारतसँग लगानी सुरक्षण सम्झौता (बिप्पा) गर्न फेरि प्रस्ताव गरेका छन् ।
विगतमा आफूले बिप्पाको कुरा गर्दा साथीहरूले नमानेको स्मरण गर्दै बिप्पा सम्झौता गर्न ढिला गर्न नहुने उनले बताए ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकको शुरूमै सभामुखसँग समय लिएर पूर्व प्रधानमन्त्री भट्टराईले भारत र चीनबाट लगानीकर्तालाई आकर्षित गरेर नेपाललाई २ देशबीच गतिशिल पुल बन्नुपर्ने बताएका हुन् ।
सुगौली सन्धीदेखि निरन्तर रुपमा भारतसँग पराधिनता र व्यापार घाटा बढिरहेका कारण व्यापार घाटा कम गर्न लगानी भित्र्याउने नीति लिन उनले सरकारलाई सुझाव दिए ।
हिमालपारि रहेको र बाटो नभएका कारण चीनसँग बराबरीको दूरीमा जान नसकिएपनि यसको व्यवस्थापन कसरी गर्ने भनेर नीति निर्मामा लाग्न उनले आग्रह गरे ।
‘चीनसँग नाका खोल्ने कुरा गरेका छौं, ठीकै छ । हामीले केही बुझ्नुपर्छ भने अहिले नै केही दशकसम्म, मेरो विचारमा आगामी ३–४ दशक भारतको विकल्पमा चीनको अर्थतन्त्रबाट लाभ लिन सक्दैनौं,’ भट्टराईले भने, ‘तुलनात्मक लाभको कुरा आउँछ, जुनसुकै बाटो खोलोपनि यति टाढा र महंगो पर्छ भारतबाट नै सामान ल्याउनु र भारततर्फ बेच्नु सस्तो पर्छ ।
त्यसकारण चीनसँग सम्बन्ध बढाउँदै लैजाने तर भारतसँगको सम्बन्ध, आयात मात्र गर्ने निर्यात गर्न नसक्ने अवस्था छ, दुवै अर्थतन्त्रबाट लाभ लिने र मूल्य सिखला जोडेर वस्तु निर्यात गर्न कसरी सकिन्छ ?’
भट्टराईले भारत र चीनको अर्थतन्त्रबाट लाभ लिने र हाम्रा वस्तु उत्पादन उता निर्यात गर्ने गरी नेपालमा लगानी केन्द्रीत गरेर रोजगारी सिर्जनाका लागि आह्वान गर्नुपर्ने बताए । ‘सिद्धान्ततः लगानी बढाउने भनेका छौं, के गर्ने ? कसो गर्दा भारतीय लगानीकर्ता मुख्य रुपमा यहाँ आउछन् ? त्यसपछि चीनका लगानीकर्ता आउछन् भन्ने विषयमा ध्यान दिनुपर्छ । त्यसका लागि मैले बिप्पा लगायतका सम्झौता गर्नैपर्छ ।
हिजो मैले गरौं भने साथीहरूले मान्नुभएन । अहिले पनि अन्कलाइराख्नुभएको छ यसले हुँदैन, छिटो गरौं,’ भट्टराईले भने, ‘बिप्पा सम्झौता छिटो गर्ने, राष्ट्रिय हितमा गर्ने हो । अराष्ट्रिय रुपमा कसले गर्छ आफ्नो देशको अहितमा कसले गर्छ र ? हामीले नेतृत्व गर्नुपर्छ ।’
भट्टराई प्रधानमन्त्री रहेको समयमा भारतसँग बिप्पा सम्झौताको प्रस्ताव गर्दा व्यापक आलोचना भएको थियो ।
