काठमाडौं: परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय विदेशमन्त्री एस.जयशंकरलाई नेपाल भ्रमणमा आउन पुनः खबर पठाएका छन् । नेपाल–भारतको विदेश मन्त्रीस्तरीय बैठकका लागि उनले निमन्त्रणा पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

 

 

एस.जयशंकरले विदेश मन्त्रीको सपथ लिएपछि परराष्ट्रमन्त्री ज्ञवालीले पठाएको बधाईपत्रमा पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । तर उनी नेपाल नआएर पहिलो भ्रमण भुटानबाट गरेका थिए । परराष्ट्र मन्त्री ज्ञवालीले अहिले पुनः जयशंकरलाई निमन्त्रणा पठाएको बताइएको छ ।

 

 

यो विदेश मन्त्रीस्तरीय संयुक्त बैठक गत फागुन दोस्रो हप्ता नै बस्ने कुरा थियो । तर भारतमा चुनाव भएका कारणले बैठक स्थगित भएको थियो । संयुक्त बैठकको मिति चाँडै तोकेर मन्त्री जयशंकरको नेपाल भ्रमण गराउने परराष्ट्र मन्त्रालयको तयारी रहेको छ ।

 

 

असार ३ गते भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले विदेशी मन्त्रालयका सचिव विजय गोख्लेसँग भेटेर समय तय गर्न आग्रह गरेका थिए । यस विषयमा मन्त्री जयशंकरसँग कुरा गरेर जानकारी गराउने गोख्ले जवाफ दिएको बताइएको छ ।

 

 

परराष्ट्र मन्त्रालयका सहप्रवक्ता सुरेश अधिकारीले विदेश मन्त्रीस्तरीय संयुक्त बैठकका लागि एस.जयशंकर आउने कुरा भएको हो तर हालसम्म त्यसको कुनै टुंगो नलागेको बताए । एस.जयशंकर मन्त्रीको शपथ लिएपछि बधाई पत्र पठाउँदा नेपाल भ्रमणका लागि भनि आग्रह गरिएको उनले बताए ।

 

नेपालस्थित भारतीय दूतावासकाअनुसार विदेश मन्त्री एस.जयशंकर विदेश मन्त्रीस्तरीय बैठकमा आउने कार्यक्रम रहेको छ तर मिति तय भएको छैन । विदेशमन्त्री स्तरीय बैठकमा राजनीति, सुरक्षा, दुई देशको सीमा, आर्थिक सहयोग, जलस्रोत, दुई देशको शिक्षा, सँस्कृति लगायतको विषमया छलफल हुने बताइएको छ ।

 

 

एस.जयशंकर विदेश मन्त्री भएपछि नेपालमा निकै चर्चा भएको थियो । सविधान निर्माण कार्य रोक्नका लागि एस.जयशंकर तत्कालीन अवस्थामा सचिवको हैसियतमा नेपाल आएका थिए । उनले शीर्ष नेताहरुलाई भेटेर मधेशी लगायत पिछडिएका समुदायको माग सविधानमा सम्बोधन गर्नका लागि केही दिन सविधान निर्माण स्थगित गरेर वार्ता संवादबाट त्यसलाई टुंगो लगाउन आग्रह गरेका थिए ।

 

त्यतिबेला दुई दिन मात्र सविधान निर्माण कार्य स्थगित गरेको थियो । सविधान निर्माणमा भारतको सल्लाह नेपालले नमानेको भन्दै एस.जयशंकरको रिर्पोटिङ्गका कारण देशमा नाकाबन्दी लागेको आम बुझाई रहेको छ । त्यसकारणले नेपालमा मन्त्री जयशंकरको बारेमा आलोचना भइरहेको छ । त्यस अर्थमा पनि जयशंकरले गर्ने नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा लिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version