काठमाडौं : सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आगामी आर्थिक वर्षमा ४८ अर्बको हाराहारीमा आम्दानी गर्ने लक्ष्य राखेको छ। आव २०७६/७७ बजेटमार्फत विभिन्न नयाँ कार्यक्रममार्फत आम्दानीलाई वृद्धि गर्ने टेलिकमको योजना छ।

 

टेलिकमको आव २०७६/७७ मा प्रस्तावित बजेट एक खर्ब ३ अर्ब रहेको छ। टेलिकम स्रोतका अनुसार एक खर्ब ३ अर्बको बजेट टेलिकम बोर्डमा पेश भएको छ। बजेटमा अहिले छलफल भइरहेकाले यो साता बजेट पास हुने स्रोतले जनाएको छ। बजेटको सारांशमा टेलिकमले आव २०७५/७६ को संशोधित आम्दानीभन्दा ९.२९ प्रतिशतले वृद्धि गरी ४७ अर्ब ७२ करोडभन्दा बढी आम्दानी गर्ने उल्लेख छ। चालु आवमा टेलिकमको संशोधित आय अनुमान ४३ अर्ब ६६ करोड २८ लाख छ। यसमा वृद्धि गर्दै आगामी आवमा ४८ अर्बको हाराहारीमा आम्दानी गर्नेछ।

 

टेलिकमले आर्थिक वर्ष २०७५/७६ मा अधिकांश सूचक नकारात्क हुने आँकलन गरेको छ। आव २०७४/७५ को तुलनमा ब्याज कर र रास कट्टी अघिको आम्दानी ६.९८ प्रतिशत, आम्दानी ३.५५ प्रतिशत, नाफामा ३९.६६ प्रतिशत र कुल सम्पत्तिको प्रतिफल वृद्धि ५.७३ प्रतिशतले कमी आउने टेलिकमको आँकलन छ। त्यसलाई सुधार गर्दै आगामी आवमा ब्याज कर र रास कट्टीको आम्दानी ५.५७ प्रतिशत, आम्दानी ९.२३ प्रतिशत, नाफा ९.२३ प्रतिशत र कुल सम्पत्तिको प्रतिफल वृद्धि ०.०१ प्रतिशतले वृद्धि गर्ने लक्ष्य टेलिकमले लिएको छ।

 

टेलिकमले २०७५/७६ मा ग्राहकको संख्या अघिल्लो आवको तुलनामा १३.६४ प्रतिशत वृद्धि हुने र आगामी आवमा १५.११ प्रतिशत बढ्ने जनाएको छ। कम्पनीको मार्केट सेयर ५४ प्रतिशतबाट वृद्धि गरी आव २०७६/७७ मा ६० प्रतिशत पुर्‍याउने लक्ष्य पनि लिइएको छ। टेलिकमले चालु आवसम्मको संशोधित विवरणअनुसार कम्पनीको ग्राहक आधार कुल दुई करोड २८ लाख ८२ हजार हुने जनाएको छ।

 

प्रस्तावित आयोजनाको कार्यान्वयनपश्चात आगामी आवमा थप ३४ लाख ५६ हजार (लाइन ठाउँसारी बाहेक) लाइन वितरण भई दुई करोड ६३ लाख ३९ हजार ग्राहक आधार पुर्‍याउने लक्ष्य टेलिकमको छ। त्यसका लागि टेलिकमले आगामी आवको लागि फोरजी विस्तार, मध्यपहाडी क्षेत्रमा अप्टिकल फाइबर विस्तार, आईपीटीभी सहितको फाइबर टु दी होम सेवा विस्तार, मोबाइल फाइनान्सियल सर्भिस लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version