काठमाडौँ: सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोगमा बढेको छ ।
उत्पादनशील क्षेत्रतर्फ़ कर्जा प्रवाह तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग बढेकोराष्ट्र बैंकले जनाएको छ ।
२०७६ बैशाख मसान्तसम्ममा यस बैंकको रु.२५ अर्ब २८ करोड पुनरकर्जा लगानीमा रहेको छ । यस अन्तर्गत साधारण पुनरकर्जा रु. २१ अर्ब ५४ करोड र निर्यात पुनरकर्जा रु. १ अर्ब १९ करोड उपयोग भएको छ ।
भूकम्प पीडितहरुलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता २०७६ बैशाख मसान्तमा रु.२ अर्ब ५१ करोड रहेको छ ।
यस्तो कर्जा १५७७ जना ऋणीले उपयोग गरेका छन् । २०७६ बैशाख मसान्तसम्ममा “सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्वन्धी एकीकृत कार्यविधि, २०७५” बमोजिम प्रवाह गरिएको कर्जामध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत १५,५४७ जना ऋणीको रु.२७ अर्ब ४२ करोड कर्जा बक्यौता रहेको छ ।
त्यसैगरी, सो कार्यविधिमा व्यवस्था भएका अन्य क्षेत्रतर्फ प्रवाह भएको कर्जामध्ये ४७६ जना ऋणीको रु.२२ करोड ६१ लाख कर्जा बक्यौता रहेको छ । नेपाल सरकारले सहुलियतपूर्ण कर्जाका लागि कुल रु.१ अर्ब १६ करोड ब्याज अनुदान प्रदान गरेकोछ ।
