काठमाडौँ: चालू आर्थिक वर्ष २०७५/७६ को एघार महिनामा नेपालको व्यापार घाटा १२ खर्ब ११ अर्ब पुगेको छ । समीक्षा अवधिमा नेपालबाट ८७ अर्ब ८३ करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँ बराबरको सामान आयात भएको छ ।
भन्सार विभागको नेपालको वैदेशिक व्यापार तथ्यांक अनुसार आर्थिक वर्ष २०७४ /७५को पहिलो एघार महिनाको तुलनामा आर्थिक वर्ष २०७५ /७६ को एघार महिनामा नेपालको ब्यापार घाटा १७ दशमलब ४० प्रतिशतले वृद्धि भई भएको छ ।
समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा आयात १७ दशमलब ४५ प्रतिशतले र निर्यात १८ दशमलब १८ प्रतिशतले बृद्दि भएको छ ।
समीक्षा अवधिमा निर्यात बढेपनि सिमित उत्पादनको कारण आयातमा वृद्धि हुँदा ब्यापार घाटा अधिक वृद्धि भएको हो । समीक्षा अवधिमा नेपालको कुल बैदेशिक ब्यापार १७ दशमलब ५० प्रतिशतले वृद्धि भई १३ खर्ब ८७ अर्ब पुगेको छ ।
सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । भारतसँग ६ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो । चीनसँग यस्तो व्यापार घाटा एक खर्ब ५२ अर्ब रहेको छ ।
समीक्षा आवधिमा नेपालबाट भारतमा ५६ अर्ब ५९ करोड बराबरको समान निर्यात भएकोमा भारतबाट नेपालमा ८ खर्ब ४१ अर्ब बराबरको सामान आयात भएको छ ।
त्यसैगरी, समीक्षा आवधिमा नेपालबाट चीनमा एक अर्ब ९६ करोड बराबरको समान निर्यात भएकोमा चीनबाट नेपालमा एक खर्ब ८६ अर्ब बराबरको सामान आयात भएको छ ।
