काठमाडौँ: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका अधिकृत रामबहादुर कर्माचार्यले घूस लिएर परीक्षामा अनुत्तीर्ण परीक्षार्थीलाई समेत पास भएको शैक्षिक प्रमाणपत्र जारी गरेको पाइएको छ ।

 

घूस लिई परीक्षा नतिजा फेरबदल गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्माचार्य्विरुद्ध सोमबार मुद्दा चलाएको छ । उनीसहित भक्तपुर क्याम्पस, दूधपाटीका शिक्षण सहायक सुरेन्द्रप्रसाद कोइराला र अर्का एक परीक्षार्थी केदार भट्टराईविरुद्ध पनि मुद्दा परेको छ ।

 

कोइरालाले पनिकाबाट मानविकी संकायका तीन विषयमा नम्बर थपाएर प्रमाणपत्र लिएका थिए । उनी अधिवक्तासमेत हुन् । परीक्षाको परिणाममा फेरबदल गर्न कर्माचार्य र कोइरालाबीच ४ लाख ५० हजार रुपैयाँ लेनदेन भएको पाइएको अख्तियारको भनाइ छ । कर्माचार्य पनिका गोप्य शाखाका मानविकी संकायका अधिकृत हुन् ।

 

स्नातकोत्तर मानविकी संकायको अर्थशास्त्र, ग्रामीण विकास र सामाजिक शास्त्र विषयको परीक्षाफल प्रकाशनमा नम्बर थपिएको हो । ‘अर्थशास्त्रमा गोल्ड मेडल ल्याउने उद्देश्यले अरू परीक्षार्थीको भन्दा बढी नम्बर ल्याउन अनुचित ढंगले नम्बर थपेको पाइयो,’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘त्यस्ता व्यक्तिलाई सन् २०१९ को विश्वविद्यालयको दीक्षान्त हुँदा प्रथमको हकदार बनाइएको भेटियो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version