काठमाडौँ: नेपाल चिकित्सक संघले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीलाई काठमाडौँ ल्याउने क्रममा स्वास्थ्यकर्मीलगायत सर्वसाधारणलाई गम्भीर घाइते बनाइएको भन्दै दुःख व्यक्त गरेको छ ।
संघका महासचिव डा लोचन कार्कीले ‘अस्पतालजस्तो संवेदनशील क्षेत्रभित्र बल प्रयोग गर्न नपाउने मान्यता विपरीत’ स्वास्थ्यकर्मी, सर्वसाधारणलाई घाइते बनाउनु दुखद् भएको बताउँदै प्रा डा केसीलाई उनको इच्छाविपरीत, आधारभूत मानवाधिकारको उल्लंघन गर्दै सरकारका तर्फबाट अनशनरत स्थलबाटै उठाएर लैजानु गलत भएको जनाएका छन् । घटनाका दोषीलाई कारवाही गरी घाइतेको शीघ्र उपचार व्यवस्था मिलाई संवेदनशीलता प्रकट गर्न संघले सरकारसँग आग्रह गरेको छ ।
निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था मिलाउन आग्रह
त्यसैगरी, राष्ट्रिय मानवअधिकार आयोगले आमरण अनशनरत प्रा डा गोविन्द केसीलाई काठमाडौँ ल्याउने क्रममा भएको झडपका क्रममा घाइते भएका चिकित्सक, विद्यार्थी एवं प्रहरीलाई निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था मिलाउन आग्रह गरेको छ ।
आयोगका प्रवक्ता मोहना अन्सारीले आज प्रेस विज्ञप्ति जारी गरी प्रा डा केसीलाई काठमाडौँ लैजान अनशनस्थल पुग्नुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कानूनमन्त्री नरेश भण्डारी र सुरक्षाकर्मीलाई अवरोध गर्ने क्रममा प्रहरीले लाठीचार्ज गर्दा झडप भएको बुझिएको जनाउँदै अस्पतालमा प्रहरीबाट भएको लाठी प्रहार रोक्न आयोगले गृहमन्त्रीलाई तत्कालै मौखिक निर्देशन दिएको जनाएकी छिन ।
हिंसा र अनुचित बल प्रयोगबाट मानवाधिकारको संरक्षण हुन नसक्ने जनाउँदै आयोगले सार्थक वार्ता र संवादबाट समस्या समाधान गर्न आग्रह गरेको छ ।
