काठमाडौँ: पछिल्लो साता काठमाडौंमा तरकारीको मूल्य अत्यधिक बढेको छ । केहिदिनदेखिको लगातार वर्षा र बाढीको कारण तरकारीको आपूर्ति कम हुँदा तरकारीको मूल्य बढेको कालिमाटी फलफुल तथा तरकारी बजारका व्यापारी भगवान चन्द्र उप्रेतीले बताए ।
उनका अनुसार वर्षका कारण देशका विभिन्न भागमा वर्षा र बढीको कारण तरकारी खेति नस्ट हुन गई उत्पादन कम भएको छ भने धेरै ठाउमा बाटो बन्द हुँदा उप्त्पादित तरकारी समेत ल्याउन नसक्दा तरकारीको आपूर्ति कम भएको छ ।
हरियो तरकारी जस्तै भिण्डी, घिउ सिमी, गाजर, गोलभेडा लगायतको मूल्य आकासिएको छ । भिण्डीको प्रतिकिलो १०० रुपैयाँभन्दा माथि पुगेको छ भने घिउँसिमीको मूल्य प्रति किलो १२० रुपैयाँ पुगेको छ ।
ठूलो नेपाली गोलभेडाको मूल्य ११० रुपैयाँ पुगेको छ । सानो गोलभेडाको मूल्य बढेर अहिले प्रतिकेजी १०० रुपैयाँ पुगेको छ ।
समितिका उप कार्यकारी निर्देशक विनय श्रेष्ठले बर्षातका कारण तरकारी पर्याप्त मात्रामा नआउँदा मूल्य अस्वाभाविकरुपमा बढ्दै गएको बताए । उनले वर्षातको समयमा सधैं मूल्य बढ्ने गरेको बताए ।
केही दिनअघि बजार आवागमन धेरै घटेको जानकारी दिँदै अहिले क्रमिकरुपमा सुधार हुँदै आएको श्रेष्ठले बताए । बजार आवागमन सुधार हुँदै गएपछि तरकारीको मूल्य पनि स्वतः घट्दै जाने उप कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् ।
