काठमाडौं: बाढीका कारण विद्युतको माग घटेपछि नेपालले दैनिक विजुली भारत निर्यात गर्न थालेको छ।

 

पछिल्लो एक साताको अवधिमा नेपालले दैनिक डेढ सय मेगावाटको हाराहारीमा विजुली भारत निर्यात गर्दै आएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जानकारी दिए।

 

मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले भने, ‘यही असार २७, २८ र २९ गते दैनिक १५० मेगावाट विद्युत् भारत पठाइएको छ ।’

 

मन्त्री पुनले असार ३० गते रातिमात्रै २०० मेगावाट विद्युत् भारत पठाइएको जानकारी दिए । नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता र इनर्जी बैंकिङको अवधारणानुसार नै यहाँ बढी भएको विद्युत् भारत पठाइएको उनको भनाइ छ ।

 

प्राधिकरणका अनुसार अहिले विजुलीको डिमान्ड ६ सय ५० मेगावाट मात्रै छ। बाढीका कारण तराईका धेरै जिल्ला डुबानमा परेकोले डिमान्ड घटेको हो। अरु समयमा विजुलीको डिमान्ड १२ सय मेगावाट छ।

 

‘हामीले बढी भएको विद्युत लगातार तीन दिन सम्म निर्यात गर्यौ,’ पुनले भने,’पिक समयमा हाम्रो उत्पादनले नपुगेपछि २०० मेगावाट विद्युत आयात पनि गरिरहेका छौ। यो नै इनर्जी बैंकिङ अभ्यासको सुरुवात पनि हो।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version