वासिङ्टन :  अमेरिका भ्रमणमा रहनुभएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आतंकवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानमा रहेबसेको ठाउँका बारेमा पाकिस्तानी गुप्तचर निकायहरुले नै अमेरिकालाई सूचना दिएको बताउनुभएको छ ।

 

पाकिस्तानले हालसम्म बिन लादेन पाकिस्तानको कुन ठाउँमा बस्थे भन्ने आफूहरुलाई आधिकारिक जानकारी नभएको बताउँदै आएको थियो ।

 

अमेरिकी विशेष फौजले पाकिस्तानभित्रै प्रवेश गरेर सन् २०११ मे २ तारिखमा गरेको कारबाहीमा बिन लादेन मारिएका थिए । अमेरिकी गोप्य कारबाहीका कारण पाकिस्तान र अमेरिकाबीच लामो समयदेखि विवाद हुँदै आएको छ ।

 

पाकिस्तानले अमेरिकामाथि आफ्नो सार्वभौमसत्ता हनन गरेको आरोप लगाउँदै आएको छ । पाकिस्तानी चिकित्सक शकील अफ्रिदीले खोप अभियानका नाममा बिन लादेन रहेबसेको स्थान पत्ता लगाएका थिए ।

 

पाकिस्तानले तिनै चिकित्सक अफ्रिदीमाथि देशद्रोही कार्य गरेको भन्दै जेलमा राखेको छ ।

अमेरिकी सञ्चार माध्यम फक्स न्यूजलाई दिनुभएको अन्तर्वार्तामा भन्नुभयो – शकिललाई छाड्ने भन्ने विषय निकै भावनात्मक छ, किनभने शकिललाई पाकिस्तानमा जासूसको रुपमा व्यवहार गरिन्छ । हामी पाकिस्तानमा अमेरिकालाई सहयोगी मुलुकको रुपमा लिन्छौं र यदि हामीले नै सूचना दिएको भए हामीले ओसामा बिन लादेनलाई त्यहीबेला अमेरिकाको जिम्मा लगाउनु पथ्र्यो ।

 

बिन लादेनका बारेमा पाकिस्तानी गुप्तचर निकायलाई जानकारी थियो त भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री खानले भन्नुभयो– गुप्तचर निकायले सूचना दिएकै हो र त्यही आधारमा ओसामा बिन लादेन रहेबसेको ठाउँ पत्ता लगाउन सहयोग पुगेको थियो । आइएसआईले नै फोन गरेर अमेरिकी गुप्तचर निकायलाई जानकारी गराएको हो ।

 

तर प्रधानमन्त्री खानले पाकिस्तानी गुप्तचर निकायले कहिले, कहाँ र कसरी जानकारी गराएको थियो भन्ने विस्तृत रुपमा बताउन चाहनु भएन ।

 

पाकिस्तानले आफूहरुलाई बिन लादेनका बारेमा जानकारी भएको औपचारिक रुपमा नबताए पनि पूर्व गुप्तचर असाद डुरानीले सन् २०१५ मा अल जजिरालाई दिएको अन्तर्वार्तामा पाकिस्तानी गुप्तचर निकाय (आइएसआई) लाई बिन लादेन लुकेर बसेको ठाउँका बारेमा जानकारी भएको दाबी गर्नुभएको थियो ।

 

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावर आक्रमणका मुख्य अभियुक्त बिन लादेन पाकिस्तानको राजधानी इस्लामावाद नजिकैको अबोटाबादमा मारिएका थिए । अमेरिकाले लादेनलाई पक्राउ गर्न सम्पूर्ण शक्ति लगाएको थियो । तर अबोटाबादमा बिन लादेन कहिलेदेखि बसेका थिए भन्ने अद्यापी अन्यौल नै छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version