काठमाडौँ ः सिङ्गापुरमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालले पहिलो जीत दर्ता गराएको छ ।

 

सिङ्गापुरको इण्डियन एशोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो ।

 

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल कतारसँग चार विकेटले पराजित भएको थियो ।

 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित नौ ओभरमा सात विकेट गुमाउँदै ८३ रनको योगफल बनायो ।
८४ रनको विजयी लक्ष्य बोकेर मैदान उत्रिएको नेपालले आठ ओभरमा तीन विकेट गुमाउर्दै लक्ष्य पूरा ग¥यो ।

 

वर्षाले प्रभावित भएपछि २० ओभरको खेललाई छोट्टाएर नौ ओभरमा झारिएको थियो ।

 

नेपालको जीतमा कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरे ।
२१ बल खेलेका उनले तीन छक्का र पाँच चौका प्रहार गर्दै सर्वाधिक ५१ रनको महत्वपूर्ण योगदान दिए ।

 

त्यस्तै प्रदीप ऐरी १२ रनमा बाहिरिए भने विनोद भण्डारी अविजित १३ तथा दिपेन्द्र सिंह ऐरीले २ रन जोडे ।

 

बलिङतर्फ मलेसियाका लागि मुहम्मद सहदायत एक्लैले तीन विकेट लिए ।

 

त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित नौ ओभरमा सात विकेट गुमाउँदै ८३ रन बनाएको थियो । उसका लागि सैयज अजीजले सर्वाधिक ३० रन जोडे भने वीरनदीप सिंहले २१ तथा अहमद फैजले नौ रन जोडे ।

 

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने वसन्त रेग्मीले दुई तथा सन्दीप लामिछाने र करण केसीले एक÷एक विकेट झारे । जीतसँगै नेपालले जारी प्रतियोगितामा दुई अङ्क जोडेको छ ।

 

प्रतियोगितामा नेपालसहित मलेसिया, कतार, आयोजक सिङ्गापुर र कुवेत सहभागी छन् । उक्त प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउने छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version